तुम्लिङ महोत्सवमा सीमापार पर्यटनको समीक्षा

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १३:२0
तुम्लिङ महोत्सवमा सीमापार पर्यटनको समीक्षा

भारतसँग सीमा जोडिएको पर्यटकीय केन्द्र तुम्लिङमा तीनदिने कञ्चनजङ्गा दिगो पर्यटन फोरम २०२३ जारी छ । फोरममा पर्यटकीयस्थलहरुको प्रचार गर्न विभिन्न पालिका प्रमुखहरुको सहभागिता छ । इलाम नगरपालिकाका प्रमुख केदार थापाले महोत्सवको शुभारम्भ गर्नुहुँदै जैविक विविधताको संरक्षण गरी विकास निर्माणमा पनि पर्यटन मैत्री बन्नुपर्नेमा जोड दिनुभयो । माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इतिहासविद युद्धप्रसाद वैद्य, पश्चिम बङ्गालका पर्यटन अभियन्ता राज बसु, सिक्किमको एट्री संस्थाकी डा सरला खालिङ, पाँचथरबाट नरेन्द्र केरुङ, फालेलुङ गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङ, पत्रकार केदार शर्मा, केचना कञ्चनजङ्गा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली लगायतका वक्ताले पर्यटक मैत्री व्यवहारलाई जोड दिनुभयो । उहाँहरुले पर्यटनका लागि प्रकृति जोगाउनुपर्ने धारणा राख्नुभयो । ट्रेकिङ रुटको संरक्षण र सांस्कृतिक परिकारहरुको संरक्षण गरेर ग्रामीण पर्यटन विकास गर्नुपर्ने धारणा रहेको थियो । मङ्गलबार भएको कार्यक्रममा सांसद महेश बस्नेत, भारतको पश्चिम बङ्गाल सरकारका इको टुरिजम विभागका अध्यक्ष राज बसु, माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, सिक्किमकी डा सरला खालिङ बीचमा पर्यटन प्रवद्र्धन विषयमा छलफल सम्पन्न भएको थियो । उहाँहरुले नेपाल भारत सीमा क्षेत्रको पर्यटनमा आएका समस्या तिनको समाधानको उपाय, दिगो पर्यटन, फोहोरमैला व्यवस्थापन र संरक्षणका विषयमा आ–आफ्नो भनाइ राख्नुभएको थियो । मानेभञ्ज्याङदेखि सन्दकपुर हुँदै कञ्चनजङ्गा बेस क्याम्पसम्मको ट्रेलको संरक्षण गर्नुपर्ने, नेपालतर्फ मात्र बढी आवादी र होटल व्यवसाय बढी रहेकाले यस क्षेत्रले जिम्मेवार भएर अगाडि बढ्नुपर्ने उहाँहरुले बताउनुभएको थियो । महोत्सवमा याक र सिंह नृत्य सहित स्थानीय परिकार प्रदर्शनी गरिएको थियो । सोमबार सुरु भएको महोत्सव आज सम्पन्न हुँदैछ ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १३:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट