मण्डलामा ‘यौटा सपनाको अवसान’

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:५0
मण्डलामा ‘यौटा सपनाको अवसान’

रङ्गकर्मी अनुप बरालको निर्देशनमा तयार भएको नाटक ‘यौटा सपनाको अवसान’ मण्डला नाटकघरमा गत शुक्रबारदेखि मञ्चन सुरु गरिएको छ । सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको अमेरिकी नाटक ‘डेथ अफ अ सेल्समेन’लाई निर्देशक बरालले समसामयिक बनाएर प्रस्तुत गर्नुभएको हो । “हामीले सपनाको मूल्य चुकाउन बाध्य चरित्रलाई जीवन्त बनाएका छौँ । यो नाटक २५ वर्षअघि नयाँ दिल्लीको नेसनल स्कुल अफ ड्रामा (एनएसडी)मा विद्यार्थी हुँदा पढेको थिए । त्यसैले यसलाई मञ्चमा प्रस्तुत गरेको हुँ”, निर्देशक बरालले भन्नुभयो, “यसमा मध्यमवर्गीय परिवारको सकस छ । मेरो रुचि र नाटकको कथा मिलेपछि एनएसडीबाट फर्कन बित्तिकै यसको मञ्चन गर्न चाहेको थिए । यद्यपि त्यो समयमा नाटक बनाउन सकेनौँ ।” यसको लागत खर्चिलो हुँदा मञ्चन गरिहाल्ने हिम्मत जुटाउन नसकेको जानकारी निर्देशक बरालले दिनुभयो । नयाँ नाटक गर्ने छलफलमा गोविन प्रोडक्सनका प्रबन्ध निर्देशक गोविन्द पराजुलीले निर्माणको अभिभारा लिएपछि नाटक मञ्चन भएको हो । नाटकमा रोयदिभ श्रेष्ठ, शेखर चापागाइँ, दिव्यदेव, दिया मास्के, मेनुका प्रधान, विकास जोशी, उत्पल झा आदि कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक बरालले चार वर्षअघि गरिब र निमुखाको लासमाथि राजनीति गरेर ‘भोज’ गर्ने कुत्सित राजनीतिज्ञको कथा प्रस्तुत गर्ने ‘महाभोज’को निर्देशन गर्नुभएको थियो । ‘यौटा सपनाको अवसान’ मण्डला थिएटरको मञ्चमा एक महिनासम्म मञ्चन हुनेछ ।––

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १२, २०७९ २१:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट