मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३, २०८० १६:५0
मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता

प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको शुभारम्भ गर्दै नेपालको कम्युनिष्ट सिद्धान्तलाई मौलिक बनाएर त्यसलाई लोकप्रिय बनाउन जननेता मदनको योगदान अतुलनीय रहेको बताउनुभयो । पार्टी उपाध्यक्ष प्रमेश हमाल, पोलिटब्यूरो सदस्य दिलु पन्तलगायतले नेपाली राजनीतिमा मदन आश्रितको आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय रहेको चर्चा गर्नुभयो । प्रतियोगितामा ८० टोलीको सहभागिता छ । प्रतियोगिता बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागिताका लागि एक टोलीलाई रु पाँच हजार दर्ता शुल्क राखिएको छ । प्रतियोगितामा विजेता टोलीलाई रु तीन लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टोली एक लाख रुपैयाँबाट पुरस्कृत गरिनेछ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको दुर्घटनामा परी निधन भएको थियो ।

  • मिसन संवाददाता
  • बुधबार, जेष्ठ ३, २०८० १६:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट