पौड्यालको नाम सर्वसम्मत अनुमोदन

  • मिसन संवाददाता
  • सोमवार, मंसिर ११, २०८० १२:0५
पौड्यालको नाम सर्वसम्मत अनुमोदन

काठमाडौ संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ । समितिले आइतबार सुनुवाइ सम्पन्न गरेसँग नाम नियुक्ति प्रक्रियाका लागि अनुमोदन गरेको हो ।

यद्यपि समिति सदस्यहरूले पौड्यालमाथिका उजुरीबारे थप अध्ययन गरेर मात्र अनुमोदनको पक्षमा लामो छलफल गरेका थिए । आगामी सुनुवाइदेखि सुनुवाइलगत्तै निर्णय नगर्ने समझदारीमा पौड्यालको नाम भने सर्वसम्मत अनुमोदन भएको हो ।

सरकारको सिफारिस अनुसार समितिले कात्तिक १७ बाट उजुरी आह्वान गरी सुनुवाइ प्रक्रिया अघि बढाएको थियो । पौड्याललाई क्यानडाका लागि आवासीय तथा क्युबा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत प्रस्ताव गरिएको छ । यस्तै उनी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को स्थायी प्रतिनिधिका लागि पनि सिफारिस हुनुभएको छ ।
पौड्यालमाथि समितिमा दुई उजुरी प्राप्त भएका थिए । जसमा अवकाशको मुखैमा रहँदा बहालवाला सचिवलाई राजदूतमा सिफारिस गरिएको भन्दै रोक्न माग गरिएको थियो । यस्तै सरकारी कोटामा प्राप्त छात्रवृत्ति छोरीका लागि उपयोग गरेको अर्को आरोप लगाइएको थियो । पौड्यालले छोरीले प्राप्त गरेको छात्रवृत्ति सरकारी कोटाको नभई प्रतिस्पर्धाका आधारमा पाएको जवाफ समितिमा दिनुभएको थियो । सचिवलाई राजदूतमा सिफारिस गर्ने अभ्यास यसअघि पनि रहेको पनि पौड्यालको भनाइ थियो ।

सुनुवाइको कार्ययोजना प्रस्तुत गर्दै पौड्यालले संविधान, नेपालले अवलम्बन गरेको परराष्ट्र नीति, कूटनीतिक आचारसंहिताको दायराभित्र रहेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए। आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्ने बताउँदै पौड्यालले नेपाली समुदायको समस्याको सहजीकरणका लागि प्रतिबद्धता जनाए। उनले सूचना प्रविधि क्षेत्रमा लगानी र सेवा निर्यातको वातावरण बनाउन सकेको प्रयत्न गर्ने पनि प्रतिबद्धता जनाए।

  • मिसन संवाददाता
  • सोमवार, मंसिर ११, २०८० १२:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट