नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्रा

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0८:४२
नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिका लागि रास्वपाको दबाब यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ ।

११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतिमा भइरहेको विलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

सो यात्रामा रास्वपाका नेता र सांसदहरू समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँबायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि यो पटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताएका छन् ।

सभापति लामिछानेले दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।

  • मिसन संवाददाता
  • सोमवार, पुस ९, २०८० 0८:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट