बालकुमारीमा घटनाबारे रवि लामिछानेको बोलि : यो राज्यले गरेको हत्या हो

  • मिसन संवाददाता
  • शनिबार, पुस १४, २०८० 0७:४0
बालकुमारीमा घटनाबारे रवि लामिछानेको बोलि : यो राज्यले गरेको हत्या हो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरि एकपटक उदाङ्गो भएको टिप्पणी गरेका छन् । आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्ने उनको भनाइ छ ।

उनले फेशबुकमा लेखेका छन्, ‘दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नुपर्ने बनाइ दिए । यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन्। आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ ।’

घटनापछि सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्नेतर्फ पनि उतिकै हतार गरेको भए आज यो घटना नै नहुने उनको बुझाइ छ ।

उनले भने, ‘रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु । शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस् ।’

परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा सरकारको ध्यानाकर्षण गराएका छन् ।

  • मिसन संवाददाता
  • शनिबार, पुस १४, २०८० 0७:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट