लामो समयदेखि दर्ता नवीकरण हुन नसकेको नेपाल रेडक्रस सोसाइटी नवीकरण भएको छ । यही पुस १८ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट संस्था नवीकरणको प्रमाणपत्र प्राप्त भएको रेडक्रस सोसाइटीले जनाएको छ । यससँगै संस्थाले कानुनी वैधता प्राप्त गरेको छ ।
नेपाल रेडक्रस २०७६ सालदेखि नवीकरण हुन सकेको थिएन । २०८०/८१ सम्मका लागि संस्था नवीकरण भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले जानकारी दिए । संस्था नवीकरण भएसँगै रेडक्रस अभियानसँग सम्बद्ध सबैमा सकारात्मक भावनाको सञ्चार भई संस्थाले थप गतिशीलता प्राप्त गरेको उनको भनाइ छ ।
नेपाल रेडक्रसको यसअघिको कार्यसमितिमा विवाद हुँदा लामो समयदेखि संस्था प्रभावित बनेको थियो । विपद्का समयमा मानवीय सेवामा खट्नुपर्ने संस्थाको नेतृत्वमा असझदारी बढ्दा रेडक्रसले प्रभावकारी काम गर्न सकेको थिएन । स्थापनाकालदेखि वैधानिक दायित्व पूरा गर्दै अघि बढिरहेको नेपाल रेडक्रसको २०७६ चैतमा तय भएको विशेष महाधिवेशन हुन नसकेपछि संस्थाले कानुनी वैधता गुमाएको थियो ।
केन्द्रीय कार्यसमितिको निर्वाचन हुन नसकेको अवस्थामा नेपाल सरकारबाट पटक–पटक तदर्थ समिति गठन भए पनि उक्त समितिले अधिवेशन गर्न सकेको थिएन । रेडक्रसप्रेमीको साझा प्रयत्नबाट गत साउन २ र ३ गते सम्पन्न विशेष महाधिवशेनले प्रा. सुदर्शनप्रसाद नेपालको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।
लामो समयदेखि नवीकरण हुन नसकेको संस्था नवीकरण हुनु नै वर्तमान कार्यसमितिको ठूलो उपलब्धिका रूपमा रहेको अध्यक्ष नेपाल बताउँछन् । यसबीचमा नेपाल रेडक्रसको अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग पनि सम्बन्ध प्रगाढ बन्दै आएको उनको भनाइ छ ।
‘चार/पाँच वर्षदेखि बिग्रेको अन्तरराष्ट्रिय सम्बन्ध निर्वाचित कार्यसमिति आएपछि धेरै सुधार हुँदै गएको छ’, नेपाल रेडक्रसका अध्यक्ष नेपालले भने, ‘संस्थाका बारेमा केही अन्योलता देखिए प्रष्ट पार्दै जान्छौँ ।’