गणतन्त्रवादीलाई साक्षी राखेर गणतन्त्रलाई समाप्त पार्ने कडिकडाउ अभिव्यक्ति

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० 0९:0७
गणतन्त्रवादीलाई साक्षी राखेर गणतन्त्रलाई समाप्त पार्ने कडिकडाउ अभिव्यक्ति

नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै शुक्रबार देशैभर पृथ्वी जयन्ती मनाइयो । सो अवसरमा सिंहदरबार अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति रामचन्द्र पौडेलदेखि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगाएतले माल्यार्पण गरे ।

त्यस्तै, राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्रीदेखि शीर्ष नेताहरु उपस्थित थिए । कस्तो रह्यो त पृथ्वी जयन्तीको दिनभरको माहोल ।

शुक्रबार ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेर पृथ्वीनारायण शाहको स्मरण गरियो ।

हरेक वर्षजस्तो सिंहदरबारको मुलगेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राजनीतिक नेतृत्व तथा आम सर्वसाधारण बाजागाजा र नेपालको झण्डासहित पुग्ने गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विहानै सिंहदरबार पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरे । त्यसपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा पुगे । मध्यान्नतिर राप्रपा अध्यक्ष कमल थापा ठूलो -यालीसहित माल्यार्पण गर्न पुगे ।

हरेक बर्ष जस्तो राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि छुट्टै चियापान कार्यक्रमको आयोजना गरेको थियो ।

राजेन्द्र लिङदेनको निमन्त्रणामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगाएतका शीर्ष नेताहरु सहभागी भए । कार्यक्रममा सहभागी नेताहरुले पृथ्वीनारायण शाहलाई आ–आफ्नै शैलीमा स्मरण समेत गरे ।

गणतन्त्रवादी दलका शीर्ष नेतालाई भेला पारेर लिङ्देनले अव व्यवस्था फेर्ने आन्दोलनलाई चर्काउने र गणतन्त्रलाई समाप्त पार्ने भन्दै कडिकडाउ अभिव्यक्ति नै दिएको न्युज२४नेपालटिभीले लेखेको छ ।

गणतन्त्रका हिमायती ठान्ने प्रधानमन्त्री प्रचण्ड यो कार्यक्रममा उपस्थित हुन्छन् कि हुँदैनन् भन्ने आम चासो थियो, किनकी राष्ट्रपति रामचन्द्र पौडेलले शाहको शालिकमा माल्यार्पण गर्दा प्रधानमन्त्रीको तर्फबाट आधिकारीक विज्ञप्ति समेत जारी भएको थिएन । यद्यपी गतवर्ष प्रचण्डकै नेतृत्वको सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यसलाई राजसंस्थाका पक्षधरहरुले ठूलो सफलता मान्ने गरेका छन् ।

पृथ्वीनारायण शाहका दिव्यउपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको पाइन्छ । तर, उनको योगदानलाई राज्यले उचित सम्मान गर्न नसकेको कतिपयको गुनासो छ । शाहले कुटनीति, राजनीति, भ्रष्टाचार र अनियमितताका बारेमा दिएका उपदेशहरु अहिले पनि सान्दर्भिक रहेको दाबा गरिन्छ ।

पृथ्वीनारायण शाहलाई राष्ट्र निर्मातादेखि अधिनायकवादी मान्ने ठूलो जमात छ । तर, उनले गरेको राज्यको एकीकरणकै कारण आजको नेपाल रहेकाले यसलाई सम्मान गर्नु सबैको दायित्व हुने तर्क पनि बलियो देखिन्छ ।

  • मिसन संवाददाता
  • शनिबार, पुस २८, २०८० 0९:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट