राष्ट्रियसभा निर्वाचन : सबै प्रदेशमा मतपत्र पुग्यो

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १६:0३
राष्ट्रियसभा निर्वाचन : सबै प्रदेशमा मतपत्र पुग्यो

माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ गरी सबै प्नदेशमा पुर्‍याएको छ। आयोगका अनुसार सबै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयसम्म मतपत्र पुगेको छ। शुक्रबारसम्म सातै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी गरिसकेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए।

राष्ट्रि यसभा निर्वाचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै मतपत्र बनाइएको छ। प्रदेश सभा सदस्यका लागि सेतो कागजमा हरियो रङ्गको मसीले विवरण र निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन्।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङ्गको कागजमा रातो रङ्गको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएको आयोगले जनाएको छ।

आगामी फागुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदका लागि यही माघ ११ गते निर्वाचन हुँदैछ। मतदानका लागि ३८ प्रकारका कुल ६ हजार ९१० मतपात्र छपाइ भएको सहायक प्रवक्ता पन्थीले बताए।

आयोगका अनुसार कोशी प्रदेशमा निर्वाचन हुने २ पदका लागि ४ प्रकारका ९२० मतपत्र, मधेस प्रदेशमा निर्वाचन हुने ४ पदका लागि ४ प्रकारका ९४० मतपत्र, बागमती प्रदेशमा निर्वाचन हुने ४ पदका लागि ८ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ९०० मतपत्र छन्।

यस्तै, लुम्बिनी प्रदेशमा निर्वाचन हुने २ पदका लागि ४ प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने ३ पदका लागि ६ प्रकारका ९०० मतपत्र छन्।

निर्वाचनबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरुको पदावधि २०८० फागुन २१ गते देखि ६ वर्षसम्म रहनेछ।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १६:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट