एसपी समिक महर्जनलाई बेस्ट बटालियन रनिङ अवार्ड

  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० 0९:0२
एसपी समिक महर्जनलाई बेस्ट बटालियन रनिङ अवार्ड

सशस्त्र प्रहरी बलका एसपी समिक महर्जन र उनले नेतृत्व गरेको १९ नं बटालियनलाई बेस्ट बटालियन रनिङ अवार्डबाट सम्मान गरिएको छ । सशस्त्रका देशभरका ४४ वटा बटालियनमध्ये महर्जनले नेतृत्व गरेको बटालियन उत्कृष्ठ ठहरिएको हो ।

२३ औं सशस्त्र प्रहरी स्थापना दिवसको अवसरमा हल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको उपस्थितिमा प्रहरी महानिरिक्षक राजु अर्यालले महर्जनलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

अवार्ड हस्तान्तरणकै क्रममा प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी बलको सेवा, सुविधा वृद्धिको कामलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताए । उनले सशस्त्र प्रहरी बलमा आबद्ध अधिकृत र जवानहरुका वृद्धि विकास र उनीहरुका लागि आवश्यक सामानहरुको उपलब्ध गराउने कामलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले प्रविधिमैत्री सेवा प्रवाह, सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणका लागि दक्ष र चनासो रहन पनि सशस्त्र प्रहरी बललाई निर्देशन दिए । उनले सूचना प्रविधिको बहुआयामिक प्रभावसँग साक्षात्कार भई त्यसको परिचालन राष्ट्रिय हित अनुकूल गर्न पनि सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई सचेत गराए ।

प्रधानमन्त्री दाहालले सीमा सुरक्षाको क्षेत्रमा सशस्त्र प्रहरीले बलले खेलेको भूमिकाको प्रशंसा गर्दै सो सम्बन्धी तय गरिएका कार्यक्रमलाई सरकारले दृढताका साथ अघि बढाउने बताए ।

वर्षभरि उपत्यका र सातवटै प्रदेशस्थित बाहिनी मुख्यालयबाट भएका कार्यसम्पादन मूल्यांकनका आधारमा सशस्त्रले मधेश प्रदेशस्थित छिन्नमस्ता बाहिनीलाई उत्कृष्ट युनिटका रुपमा छनोट गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्यले सुम्पेको जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्दै आएको बताए । उनले सशस्त्र प्रहरीले सेनाको अभिभावकत्व र प्रहरीसँगको बन्धुत्व कायम भएको पनि बताए ।

सीमा सुरक्षालाई थप प्रभावकारी बननउन थप साधनस्रोत आवश्यक रहेको बताए । सीमाका नागरिकको मन जित्न आवश्यक रहेको र सीमा इलाका विकास अवधारणा अघि सारिएको पनि बताए ।

सशस्त्रले हरेक वर्ष माघ ९ गते आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । २०५७ माघ ९ मा सशस्त्र प्रहरी गठन आदेश स्वीकृत भएको थियो । सेना र प्रहरीबाट सेवा स्थानान्तरण गरेर अर्ध सैनिक बलका रुपमा नयाँ सुरक्षा संगठन गठन भएको थियो ।


  • मिसन संवाददाता
  • बुधबार, माघ १०, २०८० 0९:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट