नागढुंगा सुरुङ छिचोल्न अब ५४ मिटर मात्रै बाँकी

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० १३:३९
नागढुंगा सुरुङ छिचोल्न अब ५४ मिटर मात्रै बाँकी

नागढुंगा–नौबिसे सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न अब ५४.६० मिटर मात्रै बाँकी रहेको छ। सुरुङमार्गको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म २६ सय ३३.४० मिटर सुरुङ खन्ने काम सकिएको छ। तर सुरुङ मार्गका आवश्यक सम्पूर्ण काम सम्पन्न गर्न भने अझै एक वर्षभन्दा धेरै समय लाग्ने भएको छ।

नागढुंगा सुरुङ निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डुमरुले नागढुंगा सुरुङमार्गको अब ब्रेकथु्र गर्नका लागि ५८.६० मिटर मात्रै बाँकी रहेको बताए। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्गतर्फको निर्माणको प्रगति हालसम्म ९९ प्रतिशत भएको छ भने एक प्रतिशत मात्रै सुरुङ निर्माणको काम गर्न बाँकी छ।

सुरुङमार्गतर्फ मुख्य टनेल,इभाक्युएसन टनेल र वर्किङ अडिट र क्रस प्यासेज लगायतको भने समष्टि प्रगति भने ५४.६० प्रतिशत रहेको छ। इभाक्यूसन टनेलको ब्रेक थ्रु भने सन् २०२३ अगष्ट ७ मा भएको थियो। आयोजनाका अनुसार मुख्य सुरुङको भुईँढलान९कंक्रिट लाइनिङको काम भने १४ सय ९२ मिटर अर्थात् ५३.१० प्रतिशत काम सकिएको छ।

आयोजनाका अनुसार सुरुङमार्गको समष्टिगत भौतिक प्रगति भने ६९।१५ प्रतिशत रहेको छ भने वित्तीय प्रगति भने ६३.९३ प्रतिशत रहेको छ। यो आयोजनामा जापानी सहयोग नियोग जाइकाले ऋण स्वरूप दिन साढे १६ अर्ब र नेपाल सरकारको करिब ६ अर्ब गरी साढे २२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। जाइकाले दिने साढे १६ अर्ब ऋणमध्ये १३ अर्ब ३३ करोड सुरुङ मार्ग निर्माण र साढे तीन अर्ब परामर्शदाता कम्पनीका लागि तोकिएको छ। नेपाल सरकारको करिब ६ अर्ब मुआब्जामा खर्च हुने छ।

सुरु ठेक्का सम्झौताअनुसार आयोजना ३० महिनाभित्रै अर्थात् सन् २०२३ अप्रिल २६ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। पहिलो चरणमा आयोजनाको म्याद ८६ दिन मात्रै थपियो। थपिएको समयभित्र निर्माण सम्पन्न नभएपछि फेरि २०२४ अप्रिल २५ सम्म म्याद बढाइएको छ। तर पछिल्लो समयसीमाभित्र पनि आयोजना निर्माण सम्पन्न नहुने देखिन्छ। आयोजनाको अनुसार अबको झन्डै १४ महिनाभित्र यो आयोजना निर्माण सम्पन्न हुने बताइएको छ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ ११, २०८० १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट