एयरपोर्टका कर्मचारीले गृहमन्त्रीलाई भने, ‘सेवा ठप्प पार्छौ’ !

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १९:0३
एयरपोर्टका कर्मचारीले गृहमन्त्रीलाई भने, ‘सेवा ठप्प पार्छौ’ !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृत कुटपिटमा संलग्न भनिएका प्रहरीलाई कारबाही नगरे सबै काम ठप्प पार्ने चेतावनी पाँचवटा कर्मचारी संगठनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएका छन्।

आइतबार बिहानको बैठकको निर्णयअनुसार दिउँसो उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेटेर पाँचवटा कर्मचारी संगठनका नेताहरूले कुटपिटमा संलग्न भएका भनिएका प्रहरीलाई कारबाही गर्न तीन दिनको अल्टिमेटम दिएका हुन्।

कर्मचारीका नेताहरूले पछिल्लो समय कर्माचारीहरूको मनोबल कमजोर बनाउने गतिविधि भइरहेका जिकिर गरेका छन्।

घटनाबारे आइतबार बिहान नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालय, बबरहलमा बसेको बैठकमा सबै दलनिकट संगठनका पदाधिकारी सहभागी थिए। त्यसपछि दबाब बढाउन उनीहरू गृहमन्त्रीकहाँ पुगेका हुन्।

गत शुक्रबार दिउँसो १२ बजेतिर विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत तथा प्रमुख अध्यागमन अधिकृतलाई कुटपिट गरेको घटना बाहिरिएको थियो। त्यसक्रममा एकजना अध्यागमन अधिकृतले प्रहरीमाथि लात्ती हानेको सीसीटीभी फुटेज अहिले भाइरल भइरहेको छ।

गृहमन्त्रीलाई भेट्न नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल निजामी कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत निजामती कर्मचारी संगठनका अध्यक्ष गगनसिंह विष्ट र नेपाल मधेसी कर्मचारी संघका अध्यक्ष विजयकुमार यादव पुगेका थिए।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १९:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट