आज तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार मनाइँदै

  • मिसन संवाददाता
  • शनिबार, माघ २७, २०८० 0८:१0
आज तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार मनाइँदै

तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होसार आज धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्।

नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुले आजकै दिन नयाँ वर्ष मनाउने गर्दछन्। ल्होसार शब्दको अर्थ पनि नयाँ वर्ष भन्ने हुन्छ।

हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ। समुदायका सबै जना एकै ठाउँमा भेला भइ सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।

तामाङ समुदायमा आज छोरी चेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरु १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट सुरु हुने यी वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको तामाङ समुदायले जनाएका छन्।

ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ।

राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ। यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्।

सोनाम ल्होसार पर्व तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नुका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन्। मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्याल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउने गरेका छन्।

  • मिसन संवाददाता
  • शनिबार, माघ २७, २०८० 0८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट