सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । आइतबारबाट काठमाडौँमा सुरु भएको बैठकमा पहिलो दिन प्रदेश इन्चार्ज र अध्यक्षले चार महिने माओवादी विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए ।
आज पनि समसामयिक राजनीति र यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।
माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनर्निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।
हिजो कसले के बोले ?
वर्षमान पुन (उपत्यका विशेष)
– अभियानको सिकाइ निकै महत्त्वपूर्ण छ । एक अर्कामा आरोप होइन, तथ्यमा आधारित बहस अभियानको मौलिकता हो ।
– विधान अधिवेशन र विशेष महाधिवेशनलाई अभियान कोशेढुंगा बन्नेछ ।
– नेतृत्वलाई विचारमा, राजनीतिमा र संगठनमा संश्लेषण गर्न सहज बनाएको छ ।
लीलामणि पोखरेल (मधेस)
– संगठन संरचना नभएको अवस्थामा अभियान सञ्चालन गरेको ।
– मधेसमा पार्टी नेतृत्व, नीति, योजना, कार्यक्रममा विवाद छैन तर जुँगाको लडाइँ छ, सुविधाको लडाइँ छ ।
– अभियान सुरु भयो, अभियान जारी छ, ७५ प्रतिशत अभियान अझ जरुरी छ ।
– वर्ग संघर्षको आजको आधार मधेस हो । आजको समाजवादको आधार मधेस हुनु पर्छ ।
– यो अभियान मार्फत काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गरिनु पर्छ ।
– पैसा कमाउन कर्मचारी मधेस जाने चलन रहेछ, आजको दिनमा भ्रष्टाचारको केन्द्र मधेस हो । सुशासनको अभियान मधेसमा केन्द्रित गरिनु पर्छ ।
चक्रपाणि खनाल (कोशी)
– अभियानले पार्टी संगठनमा आशा जगाएको छ ।
– अभियान ६० प्रतिशत उत्साहजनक भयो ।
– कोशी प्रदेशका १३७ पालिकाका ११५७ वडामा अभियान भयो ।
– अभियान अपेक्षाकृत हुन सकेन, थप अभियान जरुरी छ ।
– प्रदेशको नामका कारण पार्टीको छवि खस्केको छ, पार्टी केन्द्रले आत्मालोचना गरे पनि जनतामा अझ भ्रम छ ।
जनार्दन शर्मा (बागमती)
– जनतामा पार्टीप्रति आशा भएको तर त्यसलाई सांगठनिकरण गर्न नसकिएको ।
– कार्यकर्ताको आलोचना र माया दुवै छ ।
– विगतको कतिपय गलत निर्णयका कारण उपत्यकामा पार्टी बनाउन जनतालाई पार्टीमा जोड्न गाह्रो भएको छ ।
– सरकारको नेतृत्व गरेर लोडसेडिङ, खानेपानी, नागरिकता, सुशासनको राम्रा काम गर्दा पनि जनता माओवादीसँग आएनन् । उपत्यकामा विशेष ध्यान दिन जरुरी छ ।
– काम माओवादीले गर्ने, जनतालाई अर्कैले झुक्याउने कुरा सल्टाउनु पर्छ ।
गिरिराजमणी पोखरेल (सम्पर्क समन्वय)
– सापेक्षितरुपले व्यवस्थित कमिटी छ ।
– काठमाडौँ र पार्टीबिच लय मिलेको छैन, अन्तरविरोधले काम गरेको छ ।
– पार्टी विधि र पद्धतिमा चलाउनु पर्छ ।
– वर्गमा आधारित पार्टी चलाऊ पर्छ । वर्ग छोड्दा पार्टी कमजोर भयो ।
– पार्टीका नेताहरुको कार्यशैली, आचरणसमेत रुपान्तरण गरेर, अभियानलाई निरन्तरता दिनु पर्दछ ।
मातृका यादव (कर्णाली)
– मधेसीले कहीँ जागिर नपाए पहाडमा पाउँछ, मलाई पनि पार्टीमा काम नपाउँदा कर्णालीको पहाड पठाएको जस्तो भयो । तर म खुसीले गएको हो ।
– हुम्लाका जनताले मलाई भेटेर ‘पहिला जाँडको भाँडो फुटाउने, अहिले त तपाईँका कार्यकर्ता नै खाएर बाटोमा लड्छन्’ भने ।
– भूकम्पका बेला प्रभाकरजी रुकुममा जोड खट्नु भयो, बागमतीबाट बिदा लिएर हो कि !
– अध्यक्ष कमरेडले ३ पटक समय दिनु भयो कर्णालीमा ।
– अभियानमा आर्थिक समस्या भयो ।
राम कार्की (प्रवास)
– प्रवासीहरुको भूमिका फेरिएको छ ।
– पहिले यताबाट भनेको मान्थे अहिले उनीहरुले भनेको यता मान्छन् ।
– अतः प्रवासको काम सहयोगीबाट निर्णायकमा बदलिएको छ ।
– माओवादी नेतृत्वमा सरकार भएको बेला नेपाललाई शान्ति क्षेत्र घोषणाको प्रस्ताव गरौँ ।