दोलखाको मेलुङ गाउँपालिका पवटीस्थित हाम्रो सूर्याेदय बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाखभन्दा बढी रकम चोरी भएको घटनाले झनै ठुलो रुप लिने देखिएको छ । सहकारीका पुर्व कोषाध्यक्ष तथा हालका घरबेटी कपिलमणि न्यौपानेले आत्महत्या गरेपछि सिंगो जिल्ला शोकमा डुबेको छ। अनुसन्धानलाई प्रभावित पार्ने मनसायले कतिपयले भने मुद्धा डाईभर्ट गर्न समेत खोजेको समेत बुझिन्छ।
प्रहरीले केहि दिनअघि न्यौपानेलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो र उनलाई छाडेको समेत थियो। नेकपा (एमाले) दोलखाका हालै निर्वाचित जिल्ला कमिटी सदस्य रहेका न्यौपानेले सामाजिक संजाल फेसबुकमा सुसाईड नोट समेत राखेका छन् । उनले घटनामा संलग्न व्यक्तिहरुको किटान समेत गरेका छन् । उनलाई प्रहरीले हिजो मात्र छाडेको बताईन्छ । उनले आफ्नो सुसाईड नोटमा प्रहरीबारे कुनै आक्षेप वा आरोप लगाएका छैनन् ।
उनले वर्षौंदेखि आफुलाई फसाउन योजना बनाईएको पनि खुलाएका छन् । उनले मुकुन्द, सोभित उप्रेती, पवित्रा बास्तोला, समिरा गौतम, अप्सरा खड्का, मुना कोइराला लगायतको आपराधिक योजनामा आफु फसेको बताएका छन् । मुख्य योजनाकार पनि उनले खुलाएका छन् ।
न्यौपानेले सुसाईड नोटमा नाम भएकाहरु अधिकांश राजनीतिक आस्थाका हिसाबले कुनै अमुक पार्टीमा जोडिएकाले उनीहरुलाई जोगाउनका लागि प्रहरीलाई हिलो छ्यापेर मुद्धा डाईभर्ट गर्न खोजिएको दोलखाका एक सहकारी अभियन्ताले बताए ।
जिल्ला सहकारी संघ दोलखाका पुर्व अध्यक्ष हेमन्त चौलागाईंले फेसबुकमा लेखेका छन्, ‘अनुसन्धानको क्रममा प्रहरीले चरम यातना दिएका कारण सहन नसकी कपिलमणी न्यौपानेले आत्माहत्या गरेको भन्ने कुरा आएको छ, किन उनिमाथि मात्र यति धेरै कठोर भयो प्रहरी ? यसको बारेमा स्पष्ट छानबिन हुन जरुरी छ ।’
चौलागाईंले भने जस्तो न्यौपानेले आफ्नो सुसाईड नोटमा प्रहरीको नाम कतै उल्लेख गरेका छैनन् । बरु उल्टै उनले सुसाईड नोटमा नाम लिएकाहरु एमाले निकट व्यक्तिहरु हुन् । उनले एक लाख दिएको भनेर नाम किटेका नर श्रेष्ठ एमाले जिल्ला अध्यक्ष हुन् वा हैनन् भन्ने एकिन भएको छैन । स्रोतका अनुसार सुसाईड नोटमा नाम भएका मुकुन्द उप्रेती एमाले निटक व्यक्ति हुन् ।
न्यौपानेले आफुले लिएको ऋण को-कसलाई दिएको पनि खुलाएका छन् । उनले नर श्रेष्ठसंग डेढ लाख, रामप्रसाद काकासंग १० लाख, पवित्रा बास्तोलासंग ३ लाख, बिमा २ लाख र पुरुषोत्तम पाठकसंग १० हजार रहेको खुलाएका छन् । साथै उनले लेखेलाई १ लाख र सफललाई ३ लाख तिर्न बाँकी भएको नोटमा उल्लेख गरेका छन् ।
साथै न्यौपानेले आमा र भाउजुलाई राम्रोसंग पाल्नु भन्दै आफ्ना भाईसंग अनुरोध गरेका छन् । आफुलाई फसाउनेलाई नछाड्न पनि उनले साथीभाईलाई अपिल समेत गरेका छन् ।
सहकारीको कार्यालयको मेन गेटसहित ५ वटा ताला तोडेर सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार नगद चोरी भएको थियो । चोरीको घटनापछि प्रहरीले सहकारी व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरी रिहा गरेको थियो । एमालेले जिल्ला प्रहरी प्रमुखको विरुद्धमा राँके जुलुस समेत निकालेको छ ।