कांग्रेस एक्लै चुनाव लड्ने

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १८:३३
कांग्रेस एक्लै चुनाव लड्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गरेका छन्।

सभापति शेरबहादुर देउवासँगको चार दिन लामो विवाद र रस्साकस्सीपछि यही आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जनसहित थापाले सांगठनिक प्रस्ताव पेश गरेका हुन्।

गगनले आगामी चुनावका लागि कुनै पनि गठबन्धन गर्न नहुने अडानसहित प्रतिवेदन पेश गरेका हुन्।

कुनै पनि कांग्रेसी कार्यकर्तालाई नेतृत्वले रुख चिन्हबाहेक अन्यमा भोट हाल्न दबाब दिन नपाइने अडानमा रहेका गगनले त्यही अनुसार प्रतिवेदन पनि महासमितिमा लगेका छन्। थापाले सबै तहका उम्मेदवार छनोट गर्दा प्रत्यक्ष मतदान गर्ने प्रस्ताव गरेका छन् ।

सोमबारदेखि ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा मंगलबार सांगठनिक प्रस्ताव पेस गर्दै थापाले सो प्रस्ताव गरेका हुन् ।

उनले अहिलेको विधि प्रक्रियालाई परिवर्तन गरेर क्रियाशील सदस्यको मतदानबाटै उम्मेदवार चयन गर्नुपर्ने बताए ।

संसदीय उम्मेदवार छनोट गर्दा पनि सम्बन्धित क्षेत्रका पार्टीका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट टुंग्याउनु पर्ने उनको प्रस्ताव छ ।

यस्तै उनले महाधिवेशनको मुखमा सदस्यता वितरण गर्न नहुने प्रस्ताव पनि राखेका छन् । थापाले सांगठनिक प्रतिवेदनमार्फत महाधिवेशनको ६ महिनाअघि सदस्यता वितरण कार्य बन्द गर्ने व्यवस्था गर्न प्रस्ताव गरे ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट