एमाले केन्द्रीय कमिटी बैठक : चारवटा प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० 0९:१६
एमाले केन्द्रीय कमिटी बैठक : चारवटा प्रतिवेदनमाथि समूहगत छलफल हुँदै

मंगलबारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ।

मंगलबारको बैठकमा प्रस्तुत भएका चारवटा कार्ययोजनामा आज समूहगत छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। छलफलका लागि एमालेले ९ वटा समूह बनाएको छ।

एमाले अध्यक्ष केपी ओलीले मंगलबारको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा विश्लेषणात्मक समीक्षासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

त्यसैगरी बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी २०८१ को वैशाखदेखि पार्टीले सञ्चालन गर्ने शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना, उपाध्यक्ष विष्णु पौडेलले पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्यालाई कार्यान्वयन सम्बन्धि र समायानुकूल पार्टी निर्माण सम्बन्धि प्रतिवेदन, महासचिव शंकर पोखरेलले पार्टीको संगठनात्मक कामको समीक्षा र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबका कार्यक्रमको खाकासहितको प्रतिवेदन पेस गरेका छन्।

नेताहरुले हिजो प्रस्तुत गरेका कार्ययोजना र प्रस्तावमाथि छलफल गर्न केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको छ।

पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभाग सम्मिलित एउटा समूहसहित ९ वटा समूह निर्माण गरिएको एमालेले जनाएको छ।

छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने छ। अध्यक्ष ओलीले सम्बोधन गरेपछि बिहीबार केन्द्रीय कमिटीको बैठक सक्ने एमालेको तयारी छ।

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन ९, २०८० 0९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट