एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ?

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १३:४७
एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ?

जेविन सर्वहारा : जेठ मसान्तसम्ममा जिल्ला अधिवेशन सकिसक्ने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को केन्द्रिय नीति अनुसार धमाधम जिल्ला अधिवेशन भैरहेका छन् । नेकपा एमाले दोलखाको माघ १९ देखि २१ गतेसम्म हुने जिल्ला अधिवेशनको लागि विभिन्न उपसमितिहरू गठन भएको छन् ।

नरबहादुर श्रेष्ठको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ जसले धमाधम जिल्ला अधिवेशनको तयारी गरिरहेको छ। प्रतिवेदन लेखनको जिम्मा पनि श्रेष्ठले नै लिएका छन् ।

राजेन्द्र मानन्धरको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, मुरारी सिवाकोटीको नेतृत्वमा आर्थिक व्यवस्थापन समिति, हिरा थोकरको नेतृत्वमा जनपरिचालन तथा यातायात व्यवस्थापन समिति, सुन्दर कार्कीको नेतृत्वमा र्‍याली व्यवस्थापन समितिको काम भैरहेको छ ।

अधिवेशनको प्रतिनिधि छनोटका लागि एक वडालाई एक निर्वाचन क्षेत्र मानिएको छ । १५ जना पार्टी सदस्य बराबर एक प्रतिनिधि चुनिने छन् । १५ ले भाग गर्दा ७ शेष रहेमा थप एक प्रतिनिधि आउन पाउने व्यवस्था मिलाइएको छ । दुई प्रतिनिधि मात्र आउने ठाउँमा एक जना महिला अनिवार्य गरिएको छ । कुल प्रतिनिधिमा एकतिहाइ महिला अनिवार्य गरिएको छ ।

सल्लाहकारबाट २५ जनालाई प्रतिनिधि बनाइने भएको छ । प्रत्येक पालिका सम्पर्क मञ्चबाट एक महिला र एक पुरुष गरी दुई दुई जना र दोलखा काठमाडौं सम्पर्क मञ्चबाट तीन जना प्रतिनिध सहभागि गराइने भएको छ ।

पदाधिकारीमा आकांक्षीको लर्को

नेकपा एमालेको विधान २०४९ ( प्रथम विधान महाधिवेशन २०७८ र दशौँ राष्ट्रिय महाधिवेशन २०७८ बाट भएको संसोधन) ले जिल्ला कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिव रहनेगरि ५ जनाको पदाधिकारी रहने प्रावधान गरेको छ । गत संघिय निर्वाचनमा प्रत्यक्ष तर्फ ३६५०५ मत र समानुपातिक तर्फ ३०९८६ मत ल्याएको एमालेमा जिल्ला पदाधिकारी बन्न तिब्र दौडधुप छ ।

दोलखा एमालेमा अन्य लहरे गुट, उपगुट थुप्रै भएपनि वडा तहसम्म जरा पुगेका २ गुट अस्तित्वमा छन् । दुवै गुटको नेतृत्व पार्टीका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्रीहरुले गर्छन । अहिले एमालेका नेता कार्यकर्ता पार्वत गुरुङ्ग र आनन्द पोखरेलको क्याम्पभित्र पर्न तिब्र लबिङ्गमा भएको दोलखा एमालेकै एक नेताले बताए ।

अध्यक्ष पदका सबैभन्दा बलिया दाबेदार हालका अध्यक्ष नरबहादुर श्रेष्ठ नै हुन् । उनी दोहोरिने मूडमा छन् । उनलाई पार्वत गुरुङ्गको आशिर्वाद भएको बताईन्छ । एक कार्यकाल मेलुङ्ग गाउँपालिकाको अध्यक्ष भएर काम गरेका श्रेष्ठ गत प्रदेशसभा निर्वाचनमा भने कांग्रेसका कुन्दनराज काफ्लेसंग १५३६० मत ल्याएर पराजित भएका थिए । यद्धपि दोलखा एमालेमा उनी हेभीवेट उम्मेदवार हुन् । जिल्लाको राजनीतिमा प्रभाव राख्ने डबल पाण्डे, भरत केसी लगायतको साथ् उनलाई हुने बताईन्छ ।

अध्यक्षका अर्का दाबेदार पुर्वअध्यक्ष इश्वरचन्द्र (आईसी) पोखरेल भएको बताईन्छ । नेकपा एमाले बागमती प्रदेश कमिटीको उपाध्यक्षमा समेत प्रतिष्पर्धा गरेका पोखरेल चितवनका दावादोर्जे लामासंग पराजित भएका थिए। लामाले ६१५ मत प्राप्त गर्दा ईश्वरचन्द्र पोखरेलले २२१ मत मात्र प्राप्त गरेका थिए। प्रदेश उपाध्यक्षमा पराजित भएपछि जिल्लाबाटै धोका भएको गुनासो गर्ने पोखरेल जिल्ला अध्यक्षमा ‘ढोक्सा’ थाप्ने दाऊमा छन् । उनी तामाकोशी गाउँपालिकाका पुर्व अध्यक्ष (जनप्रतिनिधि) पनि हुन् । निकटताको हिसाबले आनन्द पोखरेलसंग नजिक मानिए पनि उनी ‘पूर्णकालीन गुट सदस्य’ भने हैनन् ।

जिल्ला अध्यक्षका प्रबल प्रत्यासी भरत दुलाल पनि हुन् । आनन्द पोखरेल निकट मानिने दुलाल प्रदेश उपाध्यक्षमा इश्वरचन्द्र पोखरेललाई सेट गरेर आफु जिल्ला अध्यक्ष बन्ने योजनामा थिए भनिन्छ । इश्वरचन्द्र पोखरेलले नै अहिले जिल्ला अध्यक्ष ताकेपछि उनी दोधारमा छन् । वैचारिक र योजनाकार मानिने दुलाल शैलुङ्ग गाउँपालिकाका पुर्व अध्यक्ष (जनप्रतिनिधि) पनि हुन् । उनी नर श्रेष्ठको क्याम्पमा गएर जिल्ला उपाध्यक्ष हुने सम्भावनाहरुबारे पनि छलफल चलेको बताईन्छ ।

हाल मेलुङ्ग गाउँपालिका अध्यक्ष (जनप्रतिनिधि) रहेका हिरा थोकर उपाध्यक्षका सबैभन्दा बलिया दाबेदार हुन् । हाल एमाले जिल्ला सचिव रहेका थोकर कार्यकारी पदमा जनप्रतिनिधिले लड्न नपाउने पार्टी नीतिका कारण सहायक पदमा चित्त बुझाउने छन् । उनलाई आनन्द पोखरेल निकट मानिन्छ । उपाध्यक्षमा कानुन व्यवसायी पृष्ठभूमिका कृष्ण बस्नेत लगायतको पनि तयारी छ । अघिल्लो पटक उपाध्यक्षमा पराजित बस्नेत इश्वरचन्द्र पोखरेल निकट हुन् ।

आकर्षक मानिएको सचिव पदमा पार्वत गुरुङ्गको टिमबाट राजेन्द्र मानन्धर, स्वयंबहादुर खड्का लगायतको तयारी भएको बताईन्छ । मानन्धर हाल जिल्ला उपाध्यक्ष छन् भने स्वयंबहादुर खड्का गौरीशंकर गाउँपालिकाका पुर्व निर्वाचित पालिका अध्यक्ष हुन् । आनन्द पोखरेलको टिमबाट सचिवमा होम पाठकको तयारी भएको बताईन्छ । उनी अघिल्लो पटक पनि सचिवमा प्रतिष्पर्धी थिए ।

२ जना उपसचिवका लागि भने थुप्रै आकांक्षी देखिएका छन् । हाल भिमेश्वर नगरपालिकाको उपमेयर रहेकी कमला बस्नेत, बैतेश्वर ७ का पुर्व वडा अध्यक्ष रेशम राजश्वराज रिमाल, कालिन्चोक गाउँपालिका अध्यक्षमा पराजित गणेश शिवाकोटी, तामाकोशीका धिरज सुवेदी, शैलुङ्गका इश्वर न्यौपाने लगायत उपसचिवका प्रत्यासी हुन् । यी मध्ये बस्नेत हाल जिल्ला उपसचिव छिन् भने अरु जिल्ला सदस्य । युवामाझ लोकप्रिय रिमाल विद्यार्थी पृष्ठभूमिका हुन् भने सुवेदी युवासंघ पृष्ठभूमिका ।

बालकृष्ण शिवाकोटी निकट मानिने गणेश शिवाकोटी टिम मिल्दा सचिवमा समेत उक्लिन सक्ने बताईन्छ । रिमाल आनन्द पोखरेलको निकट मानिन्छन भने सुवेदी र न्यौपाने पार्वत गुरुङ्ग निकट छन् । यद्धपि अधिवेशनको मुखसम्ममा गुटमा अदलीबदली हुने सम्भावना भने प्रशस्तै छ ।

  • मिसन संवाददाता
  • आइतवार, माघ ७, २०८० १३:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट