राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले गठबन्धन नगर्ने भनिरहँदा राष्ट्रियसभा अध्यक्ष गुम्यो भने कसले जिम्मा लिन्छ भन्दै प्रश्न गरेका छन् । कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै उनले निर्वाचन लड्ने बेलामा सबैलाई गठबन्धन चाहिने अनि टिकट नपाएपछि गठबन्धन खराब भन्ने भन्दै प्रश्न गरे ।
उनले यही अवस्थामा राष्ट्रियसभा अध्यक्ष पद गुमाउन खोजेको हो भन्ने प्रश्न तेर्साए । राष्ट्रियसभा अध्यक्ष संवैधानिक पद भएकाले पनि त्यो पनि गुमाउने हो भन्ने प्रश्न उनको थियो । “राष्ट्रियसभा अध्यक्षको पद खाली हुँदैछ । कांग्रेसलाई संवैधानिक परिषद् सदस्य बनाउनुपर्छ भनेर कुरा अघि बढिरहेको बेलामा गठबन्धन तोड्ने भनेको के हो ? कांग्रेसले त्यो गुमाउन खोजेको हो ?,”
उनको प्रश्न थियो । पटक–पटक पद पाएकाले गठबन्धनको विरोध गरिरहेको भन्दै उनले अहिले निर्वाचित भएर गठबन्धन तोड्नु सोही व्यक्ति लागि परेको जिकिर गरे ।
“गठबन्धन अहिलेको आवश्यकता हो । एउटा नेताले गरेको मात्र गठबन्धन हैन । गठबन्धन आवश्यक नभएको भए नयाँ नेतृत्वलाई निर्णय गर्न दिँदा हुन्छ अहिले ८४ र ८२ भनेर हिँड्ने ?,” उनले भने, “कम्युनिष्टहरू एक हुँदैछन् । ओठ, मुख सुकाउने अवस्था भोलि नबनोस् । राष्ट्रियसभा अध्यक्ष गुमाउने काममा पार्टी नलागोस् ।”