सुन तस्करी प्रकरण : पुन पक्राउ, महरालाई मुद्धा चलाउन सिफारिस

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० १८:५७
सुन तस्करी प्रकरण : पुन पक्राउ, महरालाई मुद्धा चलाउन सिफारिस

सुन तस्करीमा संलग्न आरोपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो ।

आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको सुन तस्करीमा महराको संलग्नता देखिएको जाँचबुझ आयोगको ठहर छ । पूर्व सभामुख महरालाई फेरि अनुसन्धान गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले बताए ।

६० किलो सुन हङकङबाट र भेपमा लुकाएर दुबईबाट काठमाडौँमा सुन तस्करी भएको थियो । असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको समितिमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ ।

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र २, २०८० १८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट