बालाजु लुटपाट घटना: पक्राउ परेका १८ मध्ये ३ जनालाई मात्र थुनामा राख्न आदेश

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १६:३८
बालाजु लुटपाट घटना: पक्राउ परेका १८ मध्ये ३ जनालाई मात्र थुनामा राख्न आदेश

काठमाडौं । गत फागुन १ गते काठमाडौंको बालाजु नयाँ बसपार्कस्थित लोत्से मलका मोबाइल पसलमा भएको लुटपाट घटनामा पक्राउ परेका १८ जनामध्ये अदालतले ३ जनालाई मात्रै थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको सोमबारको इजलासले पक्राउ परेकामध्ये ३ जनालाई मात्रै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान हुनेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१ का चिरनप्रसाद रेग्मी, काठमाडौं महानगरपालिका–१६ का रवि तामाङ र काठमाडौं महानगरपालिका–२६ का नवीन खड्गी रहेका छन्। उनीहरुलाई पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी बाँकी रहेका १५ जना मध्ये ११ जनासँग धरौटी माग गरिएको छ भने २ जनालाई साधारण तारेख र २ जना नाबालकलाई अभिभावकको जिम्मा लगाउन आदेश दिइएको छ।

काठमाडौंको तारकेश्वर–१३ का सरोज पौडेल, रुपन्देहीको सैनामैना नगरपालिका–६ का कमल भनिने कैलाश कार्कीलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको छ। कार्की धरौटी तिरेर रिहा भएका छन् भने पौडेल भने धरौटी तिर्न नसकी थुनामा गएका छन्।

काठमाडौं महानगरपालिका–१६ का सुवास अधिकारीसँग ३० हजार धरौटी माग गरिएको थियो। उनी पनि धरौटी बुझाएर रिहा भएका छन्।

काठमाडौंको तारकेश्वर–५ का डिले गुरुङ, काठमाडौं महानगरपालिका–२६ का विशाल पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिका–३ का कृष्ण भनिने ईश्वर श्रेष्ठ र भोजपुरको षडानन्द नगरपालिका–९ का दिलकुमार राईलाई २० हजार धरौटी लिएर रिहा गर्न न्यायाधीश पराजुलीको इजलासले आदेश दिएको थियो।

पौडेल भने धरौटी तिर्न नसकेर थुनामा भएका छन् बाँकी २० हजार धरौटी बुझाएर रिहा भएका छन्।

काठमाडौं–२६ का सुजन खत्री, काठमाडौं महानगरपालिका–१६ का सुजन तामाङ, काठमाडौंको शंखरापुर नगरपालिका–७ का रोजन डंगोल र काठमाडौं तारकेश्वर नगरपालिका–११ का यमन राईलाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भए पनि धरौटी बुझाउन नसकेपछि उनीहरुलाई थुनामा पठाइएको छ।
काठमाडौं महानगरपालिका–२६ का कृष्ण श्रीवास्तव र सोही ठाउँका रितेश बस्नेत साधारण तारेकमा रिहा भएका छन्। दुई नाबालकलाई भने उनीहरुको अभिभावकको जिम्मा लगाएर छाडिएको छ।

नयाँ बसपार्कस्थित लोत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एबीसीडी मोबाइल प्रालि र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालि तोडफोड गरी लुटपाट भएको थियो।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ३०, २०७९ १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्