आगामी फागुन २० गते राष्ट्रियसभा सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १० सदस्यको पदावधि सकिदैछ । त्यसैले निर्वाचन आयोगले रिक्त पदहरुमा आगामी माघ ११ गते मतदान गर्दैछ । प्रदेशसभा सदस्य तथा पालिका प्रमुख, उपप्रमुख तथा पालिका अध्यक्ष उपाध्यक्ष मतदाता रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले सबै प्रदेशमा निर्वाचन अधिकृत समेत तोकिसकेको छ । यता, राष्ट्रपतिबाट मनोनित गरिने १ बाहेक १९ पदका लागि दलहरुको हानाथाप भने डरलाग्दो छ ।
सत्तारुढ दलहरुले एउटै गठबन्धन बनाएर चुनावमा जाने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि गठबन्धनको कसरत जारी राखेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासहित एमालेका ९ जनाको पदावधि एकै पटक सकिदैछ । सत्ता गठबन्धन कायमै रहेर एमालेले एक्लै प्रतिष्पर्धामा उत्रिएको अवस्थामा एमालेले सबै पद गुमाउने अवस्था छ ।
राष्ट्रियसभाको रिक्त पदका लागि प्रमुख राजनीतिक दलका तर्फबाट पटक पटक मन्त्री भइसकेकादेखि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएकाहरु पनि आकांक्षी छन् । सबैजसो दलहरुले प्रदेशगत रुपमा सिफारिस गरिरहेका छन् । पार्टीभित्रकै गुट उपगुट सक्रिय रहेको अवस्थामा गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरुलाई हम्मेहम्मे परेको छ । राष्ट्रिय सभाका १९ पदको निर्वाचनका लागि पुस २२ गते उम्मेदवार मनोनयन दर्ता हुँदैछ । २०७४ सालमा राष्ट्रियसभा गठन हुँदा गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पुरा भएका उनीहरुको फागुनमा २० मा पदावधि सकिन लागेकोले माघ ११ गते निर्वाचन गर्न लागिएको हो ।
कुन प्रदेशबाट कति जनाको पदावधि सकिँदै ?
राष्ट्रपतिबाट मनोनित हुने एक जना बाहेक १९ जना सदस्यमध्ये,
वाग्मतीमा ४ जना
गण्डकी, कर्णाली र सुदरपश्चिमबाट ३/३ जना
कोशी, मधेश र लुम्बिनी प्रदेशबाट २/२ जना ।
राष्ट्रियसभाबाट पदावधि सकिन लागेका सदस्यहरु
नेकपा एमालेबाट ९ जनाको पदावधि सकिँदै :
– गणेश तिमिल्सिना (राष्ट्रिय सभाका अध्यक्ष)
– बिमला राई पौड्याल (महिला मनोनीत)
– दीपा गुरुङ (महिला)
– इन्दु कडरिया (महिला)
– दीलकुमारी रावल थापा (महिला)
– कुमार दसौदी (अन्य),
– नरपति लुवार (दलित),
– भैरबकुमार श्रेष्ठ (अन्य)
– रामचन्द्र राई ।
नेपाली कांग्रेसबाट निर्वाचित ४ जनाको पदावधि सकिँदै :
– रमेशजंग रायमाझी (राष्ट्रिय सभा संसदीय दलका नेता)
– अनिता देवकोटा (महिला)
– जितेन्द्रनारायण देव
– प्रकाश पन्थ (अपाङ्गता)
माओवादी केन्द्रबाट निर्वाचित ३ जनाको पदावधि सकिँदै :
– विना पोखरेल (महिला)
– हरिराम चौधरी (अन्य)
– महेशकुमार महरा
यस्तै, एकीकृत समाजवादीबाट २, जसपाबाट एक र स्वतन्त्र १ जनाको कार्यकाल सकिँदै छ :
– नन्दा चापागाई (एकीकृत समाजवादी)
– सिंहबहादुर विश्वकर्मा (दलित) (एकीकृत समाजवादी)
– प्रमिला कुमारी (महिला) (जसपा)
– खिमलाल देवकोटा (स्वतन्त्र)
राष्ट्रियसभा सदस्यका लागि प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुख भएको निर्वाचन मण्डलको मतभारका आधारमा निर्वाचित हुने व्यवस्था छ । प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख/उपप्रमुखको मतभार अलग–अलग रहेको छ । जनसंख्याको आधारमा निर्धारण गरिएको मतभारको आधारमा मतगणना गरिन्छ ।