दोलखाकाे रमणीय हनुमन्तेडाँडा

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १२:५२
दोलखाकाे  रमणीय  हनुमन्तेडाँडा

काठमाडौं । दोलखाकाे धेरै रमणीय डाँडा  मध्ये एउटा नाम हो–हनुमन्तेडाँडा। काठमाडौंबाट चरिकोट हुदै खावा १७७ किलोमिटर रहेकाे छ । खावाबजारबाट हनुमन्तेडाँडा पुग्न ३ किलोमिटर लाग्छ। हनुमन्तेको सन्दर्भ हिन्दू धर्मग्रन्थ रामायणसँग जोडिएको छ। रामायण कथाअनुसार भगवान लक्ष्मणको उपचारका लागि जडीबुटीको खोजीमा निस्केका रामभक्त हुनुमान गौरीशंकर क्षेत्रमा पुगे। जताततै वनजंगल र जडीबुटी भएको भुगोलमा आइपुग्दा उनी अलमलमा  परे। उनले लक्ष्मणकाे उपचारमा चाहिने सञ्जिवनी पहिल्याउन सकेनन्। त्यसैले उनले सिंगो पहाडै बोके।

वैत्येश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमामा अवस्थित डाँडामा गुफा र हनुमानको मूर्ति छ। हनुमान यही डाँडामा बसेर चारैतिर नियाल्नु भएको र  यहाँको पहाड बोकेर लैजानु भएको स्थानीयले  बताए। त्यही बेलादेखि जनबोलीमा यसलाई हनुमन्तेडाँडा भनियो।

साे स्थानमा उत्पत्ति भएकाे हनुमानको मूर्ति केही वर्षअघि चोरी भएको र हालै नयाँ मूर्ति स्थापना गरिएको छ। त्यही मूर्ति नजिकै स्यानो गुफामा शिवलिंग छ। शिवलिंगमाथि गाईका थुन आकारको मूर्ति छ जसबाट तपतप जल वर्षा भैरहन्छ। खोंचमा हनुमान मूर्ति र गुफा छन् भने माथि डाँडाबाट हिमालको सुन्दर दृश्य देखिन्छ।लाङटाङ, गौरीशंकर, नुम्बुर र  सुकुमारी हिमाल देख्दा  मायालुको मुहार भुलिन्छ। डाँडामा बसेर योग र ध्यान पनि गर्न सकिन्छ।

बागमतिका प्रदेश सभा सदस्यद्वय पशुपति चौलागाईं र विशाल खड्काले खावामा हनुमन्ते प्रवेशद्वार उद्घाटन गरेका थिए। हनुमन्ते क्षेत्रको विकासमा योगदान पुर्‍याउन उनीहरू प्रतिबद्ध छन्। यहाँ  धर्मशाला, खानेपानी र शौचालय व्यवस्था गर्नुपर्ने देखिन्छ। साथै हनुमन्तेको संक्षिप्त जानकारी दिने सूचना पाटीकाे पनि आवश्यक देखिन्छ ।

पर्यटनबाट स्थानीयले प्रत्यक्ष फाइदा लिनकाे लागि हनुमन्तेमार्गको गैरीगाउँमा सामुदायिक होमस्टे चलाउन सकिन्छ । भिन्न जातजाति बसोबास रहेको स्थानमा होमस्टे पर्यटन फस्टाउन सक्छ।

 

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र १६, २०७९ १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट