रेशम चौधरीको पार्टी : श्रीमान अध्यक्ष, श्रीमती सह-अध्यक्ष

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १५:५७
रेशम चौधरीको पार्टी : श्रीमान अध्यक्ष, श्रीमती सह-अध्यक्ष

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीक संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

नाउपाले विधान संशोधन गरी दुईजना महासचिव हुने व्यवस्थासमेत गरेको छ । पार्टीको विधानमा ३९ जना पदाधिकारीसहित दुई सय ४६ जना केन्द्रीय सदस्य निर्वाचित र दुई सय ५५ जना मनोनित गर्ने व्यवस्था छ । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

यसैगरी पार्टीले सातवटै प्रदेशमा प्रदेश उपाध्यक्ष निर्विरोध चयन गरेको छ । सुदूरपश्प्रदेशको उपाध्यक्षमा रतनबहादुर थापा, गण्डकी प्रदेश उपाध्यक्षमा शिवकुमार बाँस्तोला, कर्णाली प्रदेश उपाध्यक्षमा महेन्द्र पुन, कोशी प्रदेश उपाध्यक्षमा इन्द्रकुमारी लिम्बू र मधेस प्रदेश उपाध्यक्षमा रामकुमार महतो निर्वाचित भएका छन् ।

त्यसैगरी सातजना सहमहासचिवमा रामलाल डगौंरा, पदम अधिकारी, पवनकुमार साह, दिलकुमारी लावती, राजन गुरुङ, प्रेमवती राना र नीरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

  • मिसन संवाददाता
  • आइतवार, पुस २९, २०८० १५:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट