‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १३:३९
‘टोकन–टाइम’ प्रणालीले काभ्रेका सेवाग्राहीलाई सहज

जिल्ला प्रशासन कार्यालयले ‘टोकन’ र ‘टाइम कार्ड’ लागू गरेपछि राहदानी र राष्ट्रिय परिचयपत्रका सेवाग्राहीलाई सहज भएको छ । कार्यालयले सेवाग्राहीको राहदानी र परिचयपत्रका फाराम भरेर फोटो खिचिदिन थालेपछि सहज बनेको हो । यसअघि राहदानीका लागि बाहिरबाट फाराम भर्न नसकेका नागरिक दैनिक कार्यालयमा बिहान ३ बजेदेखि नै लाइन बस्ने गरेका थिए । कार्यालयले हाल बिदाका दिनमा समेत नागरिकको अनलाइन फाराम भरेर फोटो खिचिदिने गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले राहदानी लिन अनलाइन फाराम भर्नैपर्ने कठिन अवस्थालाई सहज र सरल बनाउन टोकन र टाइम कार्ड प्राणाली लागू गरेपछि सेवामा सरल र सहज बन्दै गएको बताउनुभयो । पौडेलका अनुसार बिदाका दिनमा समेत एक सयभन्दा धेरै नागरिकलाई राहदानीको सेवा प्रदान गर्दै आइएको छ । कार्यालयको रेकर्डअनुसार गत फागुनमा दुई हजार तीन सय एकले राहदानी प्राप्तिका लागि फोटो खिचाएका छन् । त्यसमध्ये नौ सय ५६ महिला र एक हजार तीन सय ४५ पुरुष हुन् । थप दुईले द्रुत गतिमार्फत कार्यालयबाट सिफारिस लिएका छन् । कार्यालयबाट माघमा एक हजार चार सय ९७ ले राहदानी लिएका थिए । महाभारतस्थित इलाका प्रशासन कार्यालयबाट भने हालसम्म १२ ले फोटो खिचाएको जनाइएको छ । माघ २० गतेसम्म सेवाग्राहीले साइबर र अन्य माध्यमबाट फाराम भर्ने गरेका थिए । स्थानीय साइबरले भने राहदानीका फाराम भरेको मात्रै रु पाँच सयदेखि रु दुई हजारसम्म लिँदै आएका थिए । व्यक्तिले छोटो समयका लागि खुल्ने अनलाइनमा आवश्यक कागजात राख्दाराख्दै बन्द हुने कारण हैरानी खेप्दै आएका थिए । साइबरले पनि पालोमा राख्दा महिनौँ कुर्नुपर्र्ने बाध्यता रहँदै आएको थियो । “आफैँ भर्दा र साइबरलाई लगाउँदा धेरै सास्ती भयो, अहिले प्रशासन आफैँले फाराम भर्ने गर्न थालेपछि धेरै दिन कुर्नुपर्दैन”, बनेपा नगरपालिका–६ का सागर श्रेष्ठले भन्नुभयो ।हाल कार्यालय आफैँले उक्त फाराम भरिदिएपछि नागरिकलाई आर्थिक भार घटेको छ । कर्मचारी, बैंक तथा सेवाग्राहीको सहयोग र समन्वयले नागरिकलाई दैनिक सेवामा सहज र सरल भएको बताइन्छ । यस्तै कार्यालयले राहदानी झैँ नागरिकता र राष्ट्रिय परिचयपत्रका सेवामा सहज बनाउँदै लगेको छ । परिचयपत्रका दुई स्टेशनमा थपेर तीन बनाइएको छ । कार्यालयबाट गत माघमा दुई हजार ८१ र फागुनमा दुई हजार चार सय ७१ ले राष्ट्रिय परिचयपत्र आवेदन दिएका छन् ।

  • मिसन संवाददाता
  • सोमवार, चैत्र ६, २०७९ १३:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट