पूर्वराजा ज्ञानेन्द्र शाह यही माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा आउने भएका छन् । पूर्वराजा शाहको हेटौँडा भ्रमणबारे बुधबार हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुर र रिपोर्टर्स क्लब नेपाल मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले पूर्वराजा शाहले हेटौँडाका विभिन्न धार्मिक स्थलको अवलोकनसहित पूजाआजा गर्नुका साथै शुभेच्छुक र समर्थकहरूसँग भेट गर्ने जानकारी दिए । नेता सिंहका अनुसार पूर्वराजा ज्ञानेन्द्रले हेटौँडाको चुरियामाई मन्दिर, हेटौँडा– १० मा रहेको भुटनदेवी मन्दिर र हेटौँडा– १३ पदमपोखरीमा रहेको ज्याङछुपलिङ पोतला गुम्बाको अवलोकनसहित पूजा गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजा शाहको हेटौँडामा स्वागतका लागि नेता सिंहको संयोजकत्वमा मूल समारोह समिति तथा उपसमितिहरू पनि गठन गरिएको छ । पूर्वराजा शाहलाई एक हजार एक सय ११ जनाले स्वागत गर्ने कार्यक्रम तय भएको नेता सिंहले बताए ।