काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार उनले राजीनामा दिएको प्रहरी स्रोतले दियोपोष्टलाई बतायो । सिंह हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको दौडमा रहेका बेला जन्ममिति विवाद सार्वजनिक भएपछि सिंहले राजीनामा दिएका हुन् ।
बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमर फरकफरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो ।
सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो । प्रहरी प्रधान कार्यालयको विवरणमा उनको नागरिकता अनुसार उनको जन्ममिति २२ जेठ २०२४ हुने उल्लेख छ ।
प्रहरी नियमावली २०७१ मा सेवा प्रवेश गर्दा सम्बन्धित व्यक्तिले पेश गरेको नागरिकता प्रमाण पत्रमा वर्ष वा संवत् मात्रै उल्लेख भए नागरिकता र शैक्षिक प्रमाण पत्र जारी भएको मितिलाई जन्मको मिति र गते कायम हुने भनिएको छ । सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ ।
प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ ।