प्रविधिमैत्री बनाउन सहयोग

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ ११:१0
प्रविधिमैत्री बनाउन सहयोग

देशकै प्रमुख पर्यटकीय सहर पोखराको यातायात व्यवस्थालाई समानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ । पोखराको हरित यातायात प्रणाली विकास परियोजना र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिबीच यस सम्बन्धमा द्विपक्षीय सम्झौता भएको भएको हो । पोखराको अहिलेको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने सम्झौतामा उल्लेख छ । परियोजनाअन्तर्गत पोखराका ८४ बस रुटमा एक हजार दुई सय ८६ स्थानमा बस बिसौनि निर्माण गरिनेछ । यस्तै तीन स्थानमा बस टर्मिनल बनाइनेछ । परियोजनाअन्तर्गत कोरियाले विभिन्न साझेदार संस्थाको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसको आधा रकम बस स्टप र बसमा मेसिन जडानमा खर्च हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखराको मुख्य चोकपृथ्वी चोकलाई थप विस्तारसमेत गरिनेछ । तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ । पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिलेजस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन भने, चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । महानगर प्रमुख आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार परियोजना सम्पन्न भएपछि बस चढ्ने यात्रुको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहज हुने विश्वास महानगरको छ । पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि परियोजना प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, फाल्गुन १५, २०७९ ११:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्