मूर्ति चोरी भएको पचास वर्षपछि पुनःनिर्माण सुरु भयो ब्रह्मा मन्दिर

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १२:४१
मूर्ति चोरी भएको पचास वर्षपछि पुनःनिर्माण सुरु भयो ब्रह्मा मन्दिर

पचास वर्षअघि नै मूर्ति चोरी भएपछि जीर्ण बनेको पशुपति क्षेत्रको ब्रह्माको मन्दिर पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रको जयवागेश्वरीमा रहेको मन्दिर काठमाडौँ महानगरपालिकाबाट प्राप्त रु ४० लाखको लागतमा पुनःनिर्माण भइरहेको हो । चोरी भएको मूर्ति भेटेर गौशालास्थित महानगरीय प्रहरी वृत्तमा राखिएको महानगरपालिका–८ का अध्यक्ष आशामान सङ्गतले राससलाई जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माण सकिएपछि मूर्तिलाई मन्दिरमा राखेर पुनः प्राणप्रतिष्ठा गरिने भएको छ । मन्दिर पुनःनिर्माणका लागि उत्खनन गर्दा अर्को घरले मन्दिरको जग्गा मिचेको भेटिएको पनि उहाँले सुनाउनुभयो । नेपालमै ब्रह्माको मन्दिर अन्यत्र भएको जानकारी नभएको महानगरपालिकाको सम्पदा एवं संस्कृति समितिको संयोजकसमेत रहनुभएका वडाध्यक्ष सङ्गतले बताउनुभयो । मुलुककै दुर्लभ मूर्ति ५० वर्षदेखि प्रहरी कार्यालयमा रहेकाले मन्दिर बनाएर पुनःस्थापित गर्ने अभियानमा लागिएको वडा कार्यालयले जनाएको छ । विसं २०२२ को नापीमा मन्दिर क्षेत्रमा घर थिएन । विसं २०४२ मा भने घर बनिसकेको नापीका क्रममा भेटिएको थियो । घरधनी मन्दिरको जग्गा छोड्न तयार भएपछि मन्दिरले चर्चेका जग्गा खुला छोडिने भएको छ । ब्रह्मा मन्दिरको क्षेत्र पहिले सात आना भएकामा अहिले डेढ आनामा खुम्चिएकाले खोजबिन गरिनुपर्ने भन्दै स्थानीयवासीले माग गर्दै आएका छन् ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १२:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट