अधिकांश मासु पसल मापदण्डविपरीत

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १५:१२
अधिकांश मासु पसल मापदण्डविपरीत

यहाँका अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत सञ्चालन भएका भेटिएका छन् । सदरमुकाम तम्घास बजार क्षेत्रमा दुई दिन गरिएको मासु पसलको छड्के अनुगमनका क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन गरिएको पाइएको गुल्मीस्थित भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । उक्त केन्द्रका प्रमुख डा भरत काफ्लेको संयोजकत्वमा अनुगमन समिति गठन गरी रेसुङ्गा नगरपालिका–१ र २ मा दुई दर्जनभन्दा बढी मासु पसलको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा अधिकांश मासु पसल दर्ता नगरिएको तथा दर्ता गरिएका पसल पनि नियमित नवीकरण नगरिएको भेटिएका उहाँले बताउनुभयो । अनुगमनका क्रममा मासु, तरकारी, दूध तथा फलफूल एकै ठाउँमा राखेर बिक्री वितरण गर्ने गरेको, मासु बिक्री गर्ने स्थान सफा नगरिएको, जाली तथा सिसा नलगाई मासुलाई खुल्लारूपमा राख्ने गरेको भेटिएको थियो । तेइस सूचकाङ्कलाई आधार मानी गरिएको निरीक्षणमा मापदण्ड विपरीत खोलिएका पसललाई पहिलो पटक सुधार गर्नका लागि तत्कालै निर्देशन दिइएको उहाँले बताउनुभयो । पसल सुधारका लागि आवश्यकमापदण्ड कायम गर्न र अनुगमनका क्रममा संलग्न प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको प्रमुख काफ्लेले बताउनुभयो । अनुगमन टोलीले आम उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड नगर्न व्यवसायीलाई आग्रहसमेत गरेको थियो । अनुगमन टोलीमा उक्त केन्द्रका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु, करदाता सेवा कार्यालय, नगरपालिका, उद्योग वाणिज्य सङ्घ, पत्रकार महासङ्घ र मासु व्यवसायी समितिका पदाधिकारीको प्रतिनिधित्व थियो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र १, २०७९ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट