असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ : सहकारी अभियन्ता

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ 0९:४६
असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ :  सहकारी अभियन्ता

मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शङ्काको दृष्टिले नर्हेन सुझाव दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बचत तथा ऋण सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल सुरु गरिसकेको सन्दर्भमा सबै सहकारीलाई एउटै दृष्टिकोणले नर्हेन उहाँहरुले आग्रह गर्नुभएको छ । सहकारीका सन्दर्भमा बुधबार यहाँ आयोजित छलफलमा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले समस्याग्रस्त सहकारी समाधान समितिलाई समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाबाट बचतकर्ताको रकम शीघ्र फिर्ता गर्ने व्यवस्था मिलाउन निर्देशन भइसकेको बताउनुभयो । समितिले यसबीचमा बचतकर्ताको रु ४५ करोड फिर्ता गराइसकेको छ भने एक हजारभन्दा बढी सहकारीको श्रेस्ताको अनुसन्धान गरिरहेको छ । सहकारी विभागले सहकारीको मूल्य मान्यताविपरीत कार्य गर्ने सञ्चालकको राहदानी र बैंक खाता रोक्का गरी बचतकर्ताको बचत फिर्ता गर्ने व्यवस्था मिलाएको सचिव रेग्मीले जानकारी दिनुभयो । मन्त्रालयले असल सहकारीलाई प्रोत्साहन गर्ने र गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउने कार्यमा सहयोग गर्न सविच रेग्मीले सहकारी महासङ्घका पदाधिकारीसँग आग्रह गर्नुभएको छ । मन्त्रालयले सबै जिल्ला सङ्घलाई यस्तो भूमिका निभाउन आग्रह गर्दै सहकारी महासङ्घमार्फत निर्देशन पठाइसकेको छ । महासङ्घका अध्यक्ष मीनराज कँडेलले गलत गर्ने सहकारीलाई कुनै पनि जिल्लाका पदाधिकारीले प्रोत्साहन नगर्न र यसमा सचेत हुन सबै सञ्चालकलाई सुझाव दिनुभयो । सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्यामा परेका बचतकर्ताको समस्या सुन्न र समस्या समाधान गरिदिने निकाय देशमा रहेकाले आशाको सञ्चारको सन्देश प्रवाह गर्न ध्यानाकर्षण गराउनुभयो ।विभागका रजिष्ट्रार नमराज घिमिरेले गलत कार्य गर्ने सहकारीलाई कारबाहीको दायरामा ल्याउन विभाग सक्रिय रहेको जानकारी दिनुभयो । कार्यक्रमका अन्य सहभागी वक्ताले सहकारी अभियान गलत नभएकाले केही सञ्चालकको गलत क्रियाकलापबाट उत्पन्न समस्यालाई समाधान गर्न सबै सरोकारवालाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको सुझाव दिए ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ 0९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट