कुनै समय खोला बग्थ्यो । विद्यालयका लागि जग्गा थिएन । त्यही खोलालाई सदुपयोग गरेर विद्यालय चलाउने आँट भयो, त्यहाँका बासिन्दाको । यसपछि जन्म भयो–तुलसीपुर उपमहानगरपालिका वडा नं ५ पातुखोलामा ज्ञानज्योति आधारभूत विद्यालय । विसं २०५८ मा चन्दा सङ्कलन गरेर विद्यालय निर्माण गरियो । त्यो भवन पनि हावाले उडाएर भत्कियो । तर पनि त्यहाँका बासिन्दाले हिम्मत हारेनन् । पुनःविद्यालय भवन निर्माण गरेर कक्षा सञ्चालन गरे । भवन निर्माण भएपछि सुरुमा कक्षा ३ सम्म चलाए । विद्यालय चलाए पनि शिक्षकलाई तलब खुवाउने कुनै स्रोत थिएन । त्यसपछि गाउँका सबैले मुठी दान गरेर शिक्षकलाई तलब खुवाए । “मुठी दानमार्फत चालम सङ्कलन ग¥यौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भन्नुभयो, “दानबाट सङ्कलन गरेको चालमलाई बिक्री गरेर शिक्षकलाई तलब खुवाएका थियौँ ।” त्यही विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमुना विद्यालयका रुपमा स्थापित छ । अहिले त्यहाँ विद्यालयका ठूलाठूला भवन मात्रै छैनन्, पढाई पनि उत्तिकै राम्रो छ । त्यसैले पनि त्यो विद्यालय अहिले उपमहानगरपालिकाले नै आधारभूततर्फ उत्कृष्ट विद्यालयका रुपमा लिएको छ । नर्सरी, एलकेजीदेखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा प्रविधिमैत्री पढाइ पनि छ । नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाका माध्यामबाट पठनपाठन भइरहेको छ । जहाँ अहिले चार सय ५० बढी विद्यार्थी छन् । “सुरुमा निकै चुनौती थियो, पहिले खोलो बग्थ्यो, त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ”, विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले भन्नुभयो, “अहिले चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।” त्यहाँ सबै गरिब, दलित तथा पिछडिएका समुदायका बालबालिका पढ्छन् । पातुखोलाका बस्ती प्रायःगिट्टी कुटेर दैनिकी चलाउने नै अध्ययन गर्छन् । त्यहाँका विद्यार्थीलाई अन्य विद्यालयमा भर्ना गर्ने स्थिति पनि थिएन । त्यसैले त्यहाँ विद्यालयको आवश्यकता देखेपछि पहल लिएको अभिभावक निर्मल परियारले बताउनुभयो । “नजिक सेन्टर स्कुल थियो, त्यसमा भर्ना गर्नलाई ठूलो पावर लगाउनु पथ्र्यो”, उहाँले भन्नुभयो, “पावर नपुगे भर्ना गर्न पाउने स्थिति नै रहँदैनथ्यो, त्यही भएर पनि हामीले यहाँ विद्यालय स्थापना गरेका हौँ ।”उपमहानगरपालिकाले पनि आधारभूततर्फको उत्कृष्ट विद्यालय देखाउनुपर्दा त्यही विद्यालयलाई नै देखाउने गर्छ । अति विपन्न समुदायका विद्यार्थी पनि अध्ययन गर्ने र खोलाको किनारलाई पनि व्यवस्थित गरेर विद्यालय सञ्चालनमा ल्याएपछि आफूहरुले यो विद्यालयलाई सहयोग पनि गरेको र प्रोत्साहन पनि गरिरहेको उपमहानगरपालिकाका विद्यालय निरीक्षक चक्र भण्डारले बताउनुभयो । “त्यो विद्यालय एउटा नमुना विद्यालयका रुपमा हामीले लिएका छौँ, जहाँ गिटी कुटेर जीवन निर्वाह गर्ने परिवारका छोराछोरी अध्ययन गर्छन्”, उहाँले भन्नुभयो, “त्यसपछि त्यहाँको संरचना पनि उत्तिकै राम्रा भएका छन् ।” आधारभूत विद्यालयमा चार सय ५० विद्यार्थी हुनु भनेको सरकारी विद्यालयका लागि सकारात्मक कुरा रहेको उहाँको भनाइ छ । अहिले त्यहाँ १० जना शिक्षक, चार जना बालविकास, एक जना निजी तथा एक जना परिचर कार्यरत छन् । नजिकै पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् । त्यो विद्यालयमा अहिले आफूहरु कक्षा ८ मा पढिरहेको र त्यसपछि बाहिर स्कुलमा जानुपर्ने अवस्था रहेको भन्दै यो अवस्था अन्त्य हुनुपर्ने विद्यार्थीको माग छ । “अहिलेसम्म हामीहरु यही विद्यालयमा पढ्यौँ”, विद्यार्थी लीला चलाउनेले भन्नुभयो, “अब १० सम्म पढ्ने वातावरण भए हुन्थ्यो, अहिले नभए पनि हामी पछि आउने विद्यार्थीले कक्षा १० सम्म यहीँ पढ्न पाउँन, भन्ने चाहाना छ ।” सोही विद्यालयमा सुरुआतदेखि नै मेघराज घिमिरे कार्यरत हुनुहुन्छ । उहाँसहित तीन जना शिक्षक सुरुआतमा कार्यरत रहेको भए पनि पछि दुई जना शिक्षकले छोडेर जानुभयो । त्यसपछि घिमिरेले मात्रै सोही विद्यालय हाँक्नुभयो । सुरुआतदेखि नै उहाँ विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ । केही समय उहाँले निःशुल्क काम गर्नुयभो । “सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क पढाउनुभयो”, अध्यक्ष विकले भन्नुभयो, “छ महिनापछि एक हजार रुपैयाँ तलब तोकिदिएका हाँै ।”