अलपत्र चारलेन सडक निर्माण सुरू

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १४:0९
अलपत्र चारलेन सडक निर्माण सुरू

बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधबारदेखि काम सुरु गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिनुभयो । सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नु परेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताउनुभयो । विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो । निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुनसकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी रू २२ करोडको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । विसं २०७८ चैत ३० मा पहिलो पटक म्याद गरिएको थियो । जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब रु १८ करोड भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, चैत्र २, २०७९ १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट