समिति गठन

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२३
समिति गठन

गण्डकी प्रदेश खेलकुद परिषद्को चौथो पूर्ण बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याका बारेमा सुझाव सङ्कलन गरी पेश गर्न समिति गठन गरेको छ । परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा कार्यकारी सदस्यद्वय दिलबहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषद्का सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा मधुसुदन सुवेदी रहनुभएको छ । बैठकले प्रदेश खेलकुद सङ्घ गठन, प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समीक्षा, वार्षिक कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णयसमेत गरेको छ । बैठकमा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चमान गुरुङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उपलब्धिको उच्च मूल्याङ्कन हुने बताउनु भयो । उहाँले परिषद्का पदाधिकारीले प्रतियोगितमा स्वयंसेवीका रुपमा खेलकुद विकासका लागि गरेको भूमिका प्रशंसनीय छ भन्नुभयो । खेल सङ्घलाई व्यवस्थित गर्ने र प्रदेशमा खेलिने परम्परागत खेल सङ्घलाई समेट्न उहाँले आग्रह गर्नुभयो । बैठकमा मन्त्रालयका सचिव हेमराज सुवेदीले प्रदेश खेलकुदको वार्षिक कार्यक्रममा समावेश विभिन्न महत्वपूर्ण कार्यक्रमले खेलकुद विकासलाई गति दिन सहयोग पुग्ने बताउनुभयो । यस आर्थिक वर्ष करिब ६० प्रतिशत बजेट खर्च हुनु उपलब्धिमूलक रहेको जनाउँदै उहाँले बाँकी कार्यक्रम यथाशीघ्र सम्पन्न गरी शतप्रतिशत सफलता हासिल गर्न आग्रह गर्नुभयो ।

  • मिसन संवाददाता
  • शुक्रबार, चैत्र ३, २०७९ १२:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट