वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १३:२५
वन्यजन्तु बस्ती पस्न थालेपछि अध्ययन सुरु

देउखुरी, ८ चैत (रासस) ः दाङका वन नजिकका बस्तीमा वन्यजन्तु पस्न थालेपछि त्रास बढेको छ । घोराही उपमहानगरपालिका– ५ वसन्तापुरकी दीपा डाँगीले पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा बाख्रा चराउन लग्नुभएकी डाँगीका पाँच ठूला खसी बाघले मारिदियो । उहाँसँग अहिले पनि २० खसीबाख्रा छन् । “घर नजिकै जङ्गल छ, चराउन सजिलो होला भनेको झनै दुःख भयो, बेच्ने बेलामा बाघले खाएर मेहनत खेर गयो”, उहाँले भन्नुभयो, “खोर मै आएर खान्छ कि भन्ने डर हुन थाल्यो ।” यही ठाउँका मोहन वलीका तीन खसी गत असोजमा सोही जङ्गलमा चराउन लगेका समयमा बाघले मारिदियो । उहाँ भन्नुहुन्छ, “वर्षभरि पालेका खसी बिक्री गरेर पैसा होला भन्ने बेलामा बाघले खायो, घर नजिकै वन छ, वनमा बाख्रा चराउँदा बाघले खान्छ, बाघ बाख्राको पछि लागि बस्तीसम्म आउँछ कि भन्ने डर लागिरहन्छ ।” यही फागुन २ गते राति लमही नगरपालिका–१ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फार्ममा पसेर चितुवाले १७ बाख्रा एकै रातमा मारिदियो । “रातको समयमा बाघले बाख्रालाई आक्रमण गरेछ, पत्तै पाइएन, बिहान बाख्रालाई दाना दिन गएका बेला मरेको देखेपछि मात्रै थाहा भयो”, उहाँले भन्नुभयो, “दुःख गरेर पालेका बाख्रा बाघले एक रातमै सखाप बनाइदियो ।” लमही–३ जखेरातालका सुकबहादुर डाँगीका चार बाख्रा चितुवाले मारिदियो । डाँगीले जङ्गलमा चराउन लगेको बेलामा चितुवाले मारिदिएको हो । पछिल्लो समय सामुदायिक वनमा बाघ र चितुवाको आतङ्क बढेको छ । बाख्रा चरिचरनका लागि जङ्गल लैजाँदा वा घरमा खोरमा राखिएका बेलामा पनि खोरमा पसेर बाघ र चितुवाले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

बाघ र चितुवाले बाख्रा मारिदिने, खाइदिने गर्न थालेपछि किसान चिन्तित र त्रसित बनेका हुन् । चितुवाले वस्तुभाउमाथि आक्रमण गरी क्षति पु¥याउन थालेपछि समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण पनि गराइएको छ । वनजङ्गलमा बस्ने बाँदर, बँदेल, दुम्सीलगायत वन्यजन्तुले पनि स्थानीयलाई सास्ती दिने गरेका छन् । मेहनतका साथ फलाएका अन्नबाली भित्र्याउने बेलामा बाँदरले क्षति पु¥याएर जिल्लाका दङ्गीशरण, बबई, बङ्गलाचुली, राजपुरलगायत ग्रामीण क्षेत्रका किसानले हैरानी भोग्दै आएका छन् । वन्यजन्तुमा पनि विशेषगरी हात्ती र बाघको आक्रमणबाट धेरैको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । आहार खाइरहेका बेला, संसर्गका बेला वा बच्चासँग भएका बेला बाधा सिर्जना गरे अथवा जिस्काए आक्रमण गर्ने जोखिम बढी हुने डिभिजन वन कार्यालय लमहीका कार्यक्रमका स्रोत व्यक्ति चिरञ्जीवी खनालले बताउनुभयो । “मानवीय गतिविधिका कारण जनावरमाथि असर पुगिरहेको छ, त्यहीकारण वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि बढिरहेको छ”, उहाँले भन्नुभयो, “कतिपय अवस्थामा आहाराको खोजीमा रहेका बेला ती जनावर मानव बस्तीसम्म आइपुग्छन् ।” संरक्षित क्षेत्रकै बीचबाट बनाइएका सडक मार्ग र बसाइएका मानव बस्ती वन्यजन्तुका लागि जोखिम बनेका छन् । विकास निर्माणका काम वन्यजन्तुमैत्री नहुनु र मानवीय क्रियाकलापलाई एकीकृत रुपमा लैजान नसक्नुको परिणामस्वरुप वन्यजन्तु पनि मारिने क्रम बढेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वन्यजन्तुको बासस्थान र मान्छेको बासस्थान एकापसमा गाभिए जस्तो हुन जाँदा एक–अर्कामाथि आक्रमण हुने गरेको छ, त्यसले गर्दा घरमा पालिएका जनावर पनि उनीहरुको निशानामा पर्ने गरेका छन् ।” दाङमा बाघले घरपालुवा जनावर मार्ने क्रम बढ्न थालेपछि दक्षिण चुरे क्षेत्रमा पाटे बाघको अध्ययन सुरु गरिएको छ । दाङमा पहिलो पटक स्वचालित क्यामरा जडान गरेर पाटे बाघको अध्ययन सुरु गरिएको हो । सरकारीस्तरबाट पाटेबाघको अवस्था पत्ता लगाउन अध्ययन सुरु भएको बताइएको छ । दाङ देउखुरीको दक्षिण चुरे क्षेत्रको जैविक मार्ग भएर बाघ ओहोरदोहोर गर्ने गरेको स्थानीय उपभोक्ताले जानकारी दिए पनि यसको औपचारिक पुष्टि भने भएको छैन । त्यसैले बाघको अवस्था पत्ता लगाउन अध्ययन थालिएको हो ।

बाघको अवस्था, उसलाई चाहिने आहारा, बासस्थानलगायत अन्य वन्यजन्तुको समेत अवस्था पत्ता लगाउन राजपुर गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा पर्ने चुरे क्षेत्रमा स्वचालित क्यामरा जडान गरिएको छ । झन्डै दुई सय क्यामरा जडान गरिएको खनालले जानकारी दिनुभयो । “यति धेरै क्यामरा जडान गरेर बाघलाई केन्द्रमा राखेर गरिएको अध्ययन पहिलो हुन सक्छ”, उहाँले भन्नुभयो, “देउखुरी क्षेत्रको वनमा बाघ रहेको कुरा बाख्रा मारिदिने घटनाले पुष्टि गरेको छ, अब यसको आधिकारिक पुष्टिका लागि सर्भे थालिएको छ, यसबाट यकिन गर्न सजिलो हुनेछ ।” डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले कृषकले पालेका घरपालुवा जनावरमाथिको आक्रमणले वन्यजन्तुको गतिविधि बढेको स्पष्ट भएको बताउनुभयो । वन्यजन्तु र मानव समुदायबीचको सन्तुलन कायम गर्न तथा वन, वातावरण, जैविक विविधता तथा वन्यजन्तु संरक्षणका लागि नीति निर्माण गर्न सहयोग पु¥याउने लक्ष्यका साथ पछिल्लो समय स्वचालित क्यामरा जडान गरेर पाटेबाघको अध्ययन शुरु गरिएको उहाँले बताउनुभयो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र ८, २०७९ १३:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट