त्रिभुवन विश्वविद्यालय (त्रिवि)का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र नेकपा(एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा तथा नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायकपर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गर्नुभएको छ । “भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौँ”, तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गर्नुभएको छ । परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।