रोकिएका सडक निर्माण अघि बढाउन माग

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:१६
रोकिएका सडक निर्माण अघि बढाउन माग

ठेक्का प्रक्रिया सुरु भएर समयमा सम्पन्न हुन नसकेका र ठेक्का प्रक्रियामै अल्झिएका विभिन्न सडकखण्डको काम अघि बढाउन सांसदहरुले संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्नुहुँदै सांसद ठाकुरप्रसाद गैरे र तेजुलाल चौधरीले अपलत्र परेका सडकको कामअघि बढाउन सम्बन्धित मन्त्रालयलाई संसद्मार्फत् निर्देशन दिइनुपर्ने बताउनुभएको हो । “रुपन्देही, पाल्पा र गुल्मी जिल्ला जोड्ने सडक सालझण्डी–सुन्दरढुङ्गा सडक कालोपत्र गर्नका लागि ढेक्का लागेको तीन वर्षभन्दा बढी समय भइसक्यो । तर अहिलेसम्म काम सुरु हुनसकेको छैन । पाल्पाको डुम्रेदेखि काकल्दी–बुढाखोल्सा–कुसुमखोला–त्रिवेणी–सातमूले हुँदै गुल्मी जोड्ने सडकको ठेक्का सुरु भएर पनि ट्र्याक खुल्न सकेको छैन”, गैरेले भन्नुभयो । त्यस्तै डुम्रेदेखि कुसुमखोलासम्मको सडक कालोपत्र गर्ने गरी सुरु भएको ठेक्काको अझै सुरु नभएको उहाँको भनाइ छ । विभिन्न सरकारी निकायहरुबीच समन्वय हुन नसक्दा पनि सडकका काम अलपत्र गरेको उहाँको भनाइ छ । “वन मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयबीचको समन्वयको अभाव र सानातिना कानुनी उल्झन देखाएर निर्धारण भएका कामहरु शूरु नहुँदा हाम्रो काममा प्रश्न उठ्ने गरेको छ”, सांसद गैरेले भन्नुभयो । उहाँले ठेक्का प्रक्रिया सकिएर पनि काम सुरु नभएका आयोजनामा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्न उहाँले संसद्मा माग गर्नुभयो । सांसद तेजुलाल चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका विभिन्न सडकखण्ड र सडक डिभिजन लहानअन्तर्गत कार्यान्वयन भइरहेका सडकको कामबारे प्रश्न उठाउनुभयो । “पटकपटक बोलपत्र प्रक्रिया रद्द हुने र अर्को ठेक्का प्रक्रिया सुरु गर्न निकै धेरै समय लाग्ने गरेका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतका धेरै सडकखण्ड अलपत्र छन् । दुई÷तीन पटकसम्म बोलपत्र हुँदा पनि काम अघि बढ्नसकेको छैन”, सांसद चौधरीले भन्नुभयो ।

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २९, २०७९ १९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट