बिर्तामोडमा गुरुङ सङ्ग्रहालय शिलान्यास

  • मिसन संवाददाता
  • बुधबार, बैशाख ६, २०८० १४:५0
बिर्तामोडमा गुरुङ सङ्ग्रहालय शिलान्यास

झापाको बिर्तामोड नगरपालिका–३ मा गुरुङ सङ्ग्रहालय निर्माण हुने भएको छ । आज बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसार्इंले सङ्ग्रहालयको शिलान्यास गर्नुभयो । नगरको गहना र सम्पत्तिको रुपमा गुरुङ सङ्ग्रहालय निर्माण हुने बताउँदै उहाँले भन्नुभयो, “नेपाल सबै जातजातिको साझा फूलबारीको रुपमा रहेको छ, सबै जातजातिको धर्म, संस्कार, वेषभूषाको संरक्षण गर्न नगरपालिका प्रतिबद्ध छ ।” भावि पुस्तालाई जानकारी दिने र गुरुङ समुदायको संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्राहल निर्माण गर्न लागिएको तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिसद्का केन्द्रीय सदस्य आनन्द गुरुङले बताउनुभयो । करिब रु तीन करोड लागतमा निर्माण हुन लागेको सङ्ग्रहालय तीन तले हुने सङ्ग्रहालय निर्माण समितिका अध्यक्ष कुमार गुरुङले जानकारी दिनुभयो । गुरुङ समुदायबाट रकम सङ्कलन गरी खरिद गरिएको दुई कठ्ठा जग्गामा सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । सङ्ग्रहालय निर्माणका लागि बिर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख बजेट उपलब्ध गराएको छ । प्रदेश, सङ्घ र स्थानीय जनसमुदायबाट आर्थिक सङ्कलन गरी आगामी तीन वर्षभित्रमा सङ्ग्रहालय निर्माण सम्पन्न गरिने निर्माण समितिका सचिव लीला गुरुङले बताउनुभयो । सङ्ग्रहालय भवनको नक्शा इञ्जिनीयर रोशन सुवेदीले निःशुल्क निर्माण गरिदिनुभएको छ । कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सल्लाहकार जलकुमार गुरुङ, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, कांग्रेस नगर सभापति भोजराज सिटौला, बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष मदन बुढाथोकीले मन्तव्य राख्दै सङ्ग्रहालय निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।—

  • मिसन संवाददाता
  • बुधबार, बैशाख ६, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट