गायक दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ११, २०८० १0:५२
गायक दिलीप राई बने ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’

दिप्रङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका गायक दिलीप राई ‘गाउँपालिका तारा’ बन्नुभएको छ । गायन प्रतियोगिता ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा सिजन–२’मा सहभागी ३९ जना प्रतिस्पर्धीलाई हराउँदै उहाँ ‘गाउँपालिका तारा–२’ बन्नुभएको हो । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नुभएका गायक राईले नगद रु एक लाखको साथमा ट्रफी र एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्नुभएको छ । प्रतियोगिताको अन्तिम पुगेका १६ प्रतिस्पर्धीमध्ये प्रदीप राई दोस्रो र सङ्ग्राम राई तेस्रो हुनुभएको छ । दोस्रो स्थान प्राप्त गर्ने प्रदीप र तेस्रो स्थान प्राप्त गर्ने सङ्ग्रामलाई क्रमशः नगद रु ६० हजार र रु ३५ हजार ट्रफी प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी पिएस्पी चाम्लिङले जानकारी दिनुभयो । गाउँपालिकाभित्र लुकेर रहेका प्रतिभाको खोजी, प्रस्फुटन एवं प्रोत्साहन गर्ने उद्देश्यका साथ गायन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने योजना बनाइएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताउनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्ष विनियोजन गरिएको बजेटबाट खोटाङ कलाकार समाज काठमाडौँसँगको सहकार्यमा सो प्रतियोगिता आयोजना भएको हो । यस्तै, प्रतियोगितासँगै खोटाङ कलाकार समाजले आयोजना गरेको एकल नृत्य प्रतियोगितामा मनिता राई प्रथम, मेरिना मगर दोस्रो र सुनिता राई तेस्रो हुनुभएको छ । नृत्यतर्फ १३ जनामध्ये फाइनलमा पुगेका छ जना नृत्यकारलाई उछिन्दै तीन प्रतिभा विजेता बनेका हुन् । नृत्यमा प्रथम, दोस्रो र तेस्रो हुने प्रतिभाले क्रमशः नगद रु दश हजार, रु सात हजार र रु पाँच हजारको साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेतालाई गाउँपालिका प्रमुख राई, उपप्रमुख अरुणा थापामगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, नेकपा (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दङ्गाल, नेपाली कांग्रेसका नेता केशव कार्की, गायक तथा सङ्गीतकार एवं खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईलगायतले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।

गाउँपालिकाको केन्द्र याङसोलाटारमा आयोजना गरिएको ‘फाइनल अडिसन’मा चर्चित गायिका मेलिना राईले विशेष प्रस्तुतिमार्फत सहभागीलाई मनोरञ्जन प्रदान गर्नुभएको छ । कार्यक्रममा गायिका पार्वती राई, सङ्गीतकार विजय राई (तोरेम्पा हाङ), गायिका बबिना किराँतीलगायतका कलाकारको समेत पनि प्रस्तुति रहेको थियो । यसैबीच, ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका तारा–२’ कार्यक्रम समापन कार्यक्रमको अवसर पारेर गाउँपालिकाले तयार पारेको ‘गाउँपालिका गान’समेत विमोचन तथा सार्वजनिकीकरण गरिएको छ । गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाउँपालिका गान बजाएर विमोचन तथा सार्वजनिकीकरण गर्नुभएको हो । कार्यक्रममा विभिन्न विधाका स्रष्टालाई प्रशंसापत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । नेकपा (माओवादी केन्द्र)का युवा नेता गोपालचन्द्र राईले लेख्नुभएको गाउँपालिका गानको सङ्गीत रुपकुमार राईले गर्नुभएको छ भने, १६ गायक÷गायिकाले स्वर दिनुभएको छ ।

  • मिसन संवाददाता
  • सोमवार, बैशाख ११, २०८० १0:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट