फरार एमाले सांसद कोइरीविरुद्धको मुद्दामा आज जवाफी बहस

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १0:१२
फरार एमाले सांसद कोइरीविरुद्धको मुद्दामा आज जवाफी बहस

नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरी जोडिएको ज्यान मुद्दामा आज महाेत्तरी जिल्ला अदालतमा जवाफी बहस हुँदैछ। महोत्तरी जिल्ला अदालत जलेश्वरमा विगत चार दिनदेखि सशस्त्र प्रहरीका असई थमन विकको हत्या सम्बन्धि कोइरीविरुद्धको ज्यान मुद्दामा सुनुवाइ भइरहेको छ। न्यायाधीश उद्ववप्रसाद भट्टराईको इजलासमा सोमबारदेखि भइरहेको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ।

यो मुद्दामाथि हिजो (बुधबार) प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। आज सरकारी वकिलले फेरि जवाफी बहस गर्नेछन्।

मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई)थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो विक हत्यासम्बन्धी मुद्दामा एमाले सांसद कोइरीसहित २८ जना अभियुक्त कायम गरिएका छन्।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो।

कोइरी तत्कालीन मधेशवादी दलका नेता थिए। कोइरी नेतृत्वको समूहले विकको हत्या गरेको अभियोग छ।

हत्या सम्बन्धि यो अभियोगमा जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ गते महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। असई विकका आफन्त (दाजु) प्रेमबहादुर विक जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए। उच्च अदालत, जनकपुरले ०७७ मंसिर १९ गते महतोलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिए पनि त्यसयता कोइरी ‘फरार’ छन्।

  • मिसन संवाददाता
  • बिहिबार, मंसिर २८, २०८० १0:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट