बाबुरामलाई भित्र्याउन प्रचण्ड लचकदार

  • मिसन संवाददाता
  • मङ्लबार, माघ २, २०८० 0९:0२
बाबुरामलाई भित्र्याउन प्रचण्ड लचकदार

नेकपा माओवादी केन्द्रले पार्टी एकता संयोजन समिति बनाएको छ । माओवादी केन्द्रिय कार्यालय पेरिसडाँडमा बसेको स्थायी समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा संयोजन समिति बनाएसँगै अब डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको विषय अघि बढ्ने अपेक्षा गरिएको छ ।

वामपन्थी, कम्युनिष्ट र समाजवादी विचारधारा बोकेका दलहरुसँग पार्टी एकता, कार्यगत एकता र मोर्चा गर्ने रणनीति अख्तियार गरेको माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग हुने भनिएको एकतामा आलटाल गरिरहेको विषयको गाँठो फुकेको छ । पेरिसडाँडामा बसेको माओवादीको स्थायी समिति बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउने निर्णय गरेसँगै उल्झन्को गाँठो फुकेको हो ।

माओवादी केन्द्र र नेपाल समाजवादी (नेसपा)बीचको एकता प्रक्रिया अघि बढाउन भन्दै नेसपाले बाबुरामको नेतृत्वमा एकता संयोजन समिति बनाएपनि माओवादी केन्द्रले आनाकानी गर्दै आएको थियो । बाबुरामले नेपालमा समाजवादको आधार तयार पार्नुपर्ने र कम्युनिष्ट विचारमा फर्किन सकिदैन भन्दै दिने अभिव्यक्ति र कम्युनिष्ट विचारधाराबाट बाहिर निस्किन सकिदैन भन्ने प्रचण्डबीच एकताको विषय जटिल बनिरहेको थियो । तर, बाबुरामलाई नेसपामा शीर्ष नेताहरुले पार्टी एकता नगर्ने भए महिन्द्र राय यादवको नेतृत्वमा बहुमत नेताहरु माओवादी केन्द्रसँग एकतामा जाने दबाब दिएपछि बाबुराम बाध्य बनेका थिए ।

प्रचण्डले समाजवादी मोर्चा गठनमै आफूलाई धोका दिएको बुझेका बाबुराम समाजवादी बाटो तय गर्न भन्दै सक्रिय बन्न खोजेपनि सफलता प्राप्त गर्न नसक्दा हैरानीमै देखिन्छन् । सक्रिय राजनीतिक जीवनबाट टाढा रहेजसरी गुमनाम प्रायः बनेका बाबुराम पार्टीभित्रको आन्तरिक दबाबमा बालुवाटार पुगेर प्रचण्डसँग एकता संयोजन समिति बनाउन राजी भएपनि एकताका लागि इच्छुक नदेखिएको बताइन्छ ।

पार्टी एकताको विषयमा माओवादी केन्द्र र नेसपाका दोश्रो तहका नेताहरु सक्रिय रहेका छन् । उनीहरुले बाबुराम नआएपनि त्यहाँ रहेका नेताहरुलाई माओवादीमा ल्याउने कोसिस तीब्र पारेपछि विरक्तिएका बाबुरामसँग अब प्रचण्डले एकताको बारेमा बहस छलफल गर्नेछन् । दुबै पार्टीका अध्यक्षको तहमा पार्टी एकता संयोजन समिति नबने एकता हुन्न भन्ने ठानेका दोश्रो तहका नेताहरुले दुई नेतालाई सँगै रहेर छलफल गर्ने स्थानमा ल्याएका कारण पनि अब ढिलाचाँडो पार्टी एकताको काम अघि बढ्ने संकेत देखा पर्ने बताइन्छ ।

तर, प्रचण्ड आफै भने बाबुराम भन्दा पनि त्यहाँ रहेका दोश्रो तेश्रो तहका नेताहरुलाई ल्याउने र अन्य पार्टीमा पनि यस्तै रणनीति अख्तियार गर्ने पक्षमा रहेको निकटस्थले बताउने गरेका छन् । माओवादीले पनि एकता संयोजन समिति बनाएपछि अब बाबुराम–प्रचण्डको सहकार्य कहिले देख्न सकिएला ? प्रतिक्षाको विषय बनेको छ । न्युज२४नेपालमा समाचार छ ।

  • मिसन संवाददाता
  • मङ्लबार, माघ २, २०८० 0९:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट