प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न– एनसेल प्रकरणमा तपाईंकै परिवार जोडिएर आयो नि?

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १३:२९
प्रधानमन्त्रीलाई एमाले सांसदको प्रश्न– एनसेल प्रकरणमा तपाईंकै परिवार जोडिएर आयो नि?

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनको परिवारका सदस्यको नाम जोडिएर आएको भन्दै सांसदहरुले प्रश्न उठाएका छन्।

मंगलबार संघीय संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई नै उनको र उनको परिवारको नाम जोडिएकोबारे प्रश्न गरेका हुन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा दु:खद रुपमा प्रधानमन्त्रीको परिवार र प्रधानमन्त्री सँगै जोडिएर आएको प्रसंग उठाए। सांसद श्रेष्ठले अबको ५ वर्षभित्र एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन भनेर जवाफ समेत माग गरे।

एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गंगा दाहालको नाम जोडेर चर्चा गरिएकोप्रति लक्षित गर्दै सांसद श्रेष्ठले प्रश्न उठाएका थिए।

‘एनसेल जुन रुपले आएको छ। संसदीय प्रक्रियामा धेरै छलफल चलेको देखियो। अहिले पनि ४ वटा समितिले छानबिन गरिरहेको छ,’ उनले भने, ‘लेखा, अर्थ, सञ्चार र राज्य व्यवस्था सहितले छलफल थालेको छ। चार समितिको चारवटा राय भए के गर्ने?’

अबको ५ वर्षपछि एनसेल सरकारी स्वामित्वमा आउँछ कि आउँदैन भन्ने कुरा प्रमुख विषय भएको श्रेष्ठले उल्लेख गरे। ‘हामी बिरालोको रङबारे किन बहस गर्छौँ? बहस बिरालोले मुसा मार्छ कि मार्दैन भन्ने हुनुपर्ने हैन र?’ उनले भने, ‘एउटा काण्ड आएपछि अर्को किन आउँछ? अबको ५ वर्षपछि सन् २०२८ मा एनसेल सरकारको स्वामित्वमा आउँछ कि आउँदैन? बहस धेरै नगरौँ अनेक बहानाबाट एनसेल फुत्केर सरकारबाट बाहिर जान्छ कि जाँदैन?’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्कीले पनि प्रधानमन्त्री प्रचण्ड र प्रधानमन्त्रीकी छोरी गंगा दाहालको नाम आएकोप्रति प्रश्न उठाइन्। ‘सांसद अमरेशकुमार सिंहले खुला रुपमा प्रधानमन्त्रीको स्वकीय सचिव रहेको मानिसमाथि प्रश्न उठाउँदा किन मौन हुनुभयो?’ सांसद कार्कीले प्रश्न गरिन्।

  • मिसन संवाददाता
  • मङ्लबार, पुस ३, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट