झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा एमालेले देखेको ३२ बुँदे समस्या र संकल्प

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० २२:१५
झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा एमालेले देखेको ३२ बुँदे समस्या र संकल्प

झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा एमालेले देखेको ३२ बुँदे समस्या र संकल्प

काठमाडौं नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको समीक्षा र समस्या औंल्याएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर यात्राको ३२ बुँदे निष्कर्ष निकालेका हुन् ।
जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, ‘सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा छन् । निश्चय नै, जनताका गुनासा पनि छन्, सुझावहरु पनि छन् । कतिपय सन्दर्भमा आलोचना पनि छन् । रचनात्मक र सही गुनासा, सुझाव र आलोचनाहरुलाई ग्रहण गर्दै हामी सङ्कल्प गर्दछौं- हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिने छौं ।’
अध्यक्ष ओलीले परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्य युगतिर फर्काउन र जनताको अभिमतविनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनःस्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने बताए ।
लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नतस्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्ने उनले औंल्याए ।
ओलीले भने, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता एवं त्यही विविधताभित्रको एकता नै नेपालको पहिचान हो, नेपालको सामर्थ्य हो, नेपालको भविष्य हो । हामी सङ्कल्प गर्दछौं- हामी यस एकतालाई अझ सुदृढ र मजबुत बनाउन लागिपर्नेछौं । सामाजिक विद्वेष, अतिवाद, हिंसा र अराजकताका कुनै पनि प्रयासलाई सफल हुन दिनेछैनौं ।’
विधिसम्मत, कानूनमुताबिक र लोकतान्त्रिक ढङ्गले प्रस्तुत हुने जुनसुकै विषयमा छलफल गर्न र लोकतान्त्रिक विधिबाट समाधान खोज्न सधैं सकारात्मक र खुला रहेको उल्लेख गर्दै उनले हुलहुज्जत, अराजकता र हिंसाको बाटो अस्वीकार्य भएको बताए । उनले भने, ‘हाम्रो संवैधानिक व्यवस्था भनेको खुला प्रतिस्पर्धात्मक व्यवस्थामार्फत् समाजवादतिरको यात्रा हो । विचारमा बहुलता स्वीकार्ने तर भिन्न मत भएका दल वा समूहको उपस्थितिलाई समेत प्रतिबन्ध लगाउँछौं भन्ने खालका ‘तानाशाही’ सोच र व्यवहारलाई हामी अस्वीकार गर्छौं ।’
पछिल्लो समय गठबन्धन सरकारका भ्रष्ट र दोहनकारी क्रियाकलापका कारण जनतामा निराशा बढ्दो रहेको उनले उल्लेख गरे । अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय हित जोखिममा पर्न थालेको छ । कतिपय लोकतन्त्रविरोधी तत्वहरु यस्ता निराशालाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्न प्रयत्नशील देखिएका छन् । हामी सङ्कल्प गर्छौं, हामी सुशासनको प्रत्याभूति गर्न, विकासको यात्रालाई निर्बाध अगाडि बढाउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्ष साकार पार्न सदनभित्र र बाहिर थप प्रयत्नशील रहनेछौं । आवश्यक पर्‍यो भने जनपरिचालनको बाटो अवलम्बन गर्नेछौं ।’

संङ्कल्प यात्राको क्रममा सयौं मागपत्र, ज्ञापनपत्र र ध्यानाकर्षण-पत्रमार्फत जनताले हजारौं मागहरु प्रस्तुत गरेको उनले बताए । एमाले सरकारमा नभए पनि जनताको भरोसा नासोलाई अलपत्र पर्न नदिने उद्घोष ओलीले गरे । उनले भने, ‘यतिबेला हामी ती मागहरुको अध्ययन, विश्वेषण र वर्गीकरण गरिरहेका छौं । यो काम सकिनेबित्तिकै हामी ती विषयहरु राज्यको जुन तह- सङ्घीय, प्रादेशिक या स्थानीय तह- सँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौं र तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौं, आवश्यकताअनुसार जनदबाब दिनेछौं । वर्तमान सरकारले काम गरेन भने हामीले आफ्नो नेतृत्वको सरकार बन्नासाथ यसको दिगो समाधान र कार्यान्वयन गर्नेछौं ।’

मध्यपहाडको विकासका सम्भावना र चुनौतीका आधारमा पार्टीले यहाँको विकास र समृद्धिसम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका नाममा सुरु भएको र नेपालकै साधन र स्रोतबाट निर्माणाधीन पुष्पलाल मध्यपहाडी लोकमार्ग नेपालको गौरवको परियोजना भएको बताउँदै एमालेले विज्ञहरुसमेतको सुझाव र अध्ययनका आधारमा टेक्निकल अडिट गर्दै स्तरीय, छरितो, दिगो र सुविधायुक्त राजमार्गका रुपमा विकास गने प्रतिबद्धता जनाएको छ।एमालेको नेतृत्वविना नेपालको राष्ट्रिय हितको रक्षा,लोकतन्त्रको सुदृढीकरण, तीव्र विकास, सुशासनको प्रत्याभूति र समृद्धि सम्भव नहुने तथ्य सुनिश्चित भएकोले पार्टीलाई बहुमत प्राप्त राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न लागि गर्ने संकल्प गरेको छ ।

  • मिसन संवाददाता
  • आइतवार, पुस ८, २०८० २२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट