राजनीतिक दलहरुको नजरमा सरकारको एक वर्ष

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १0:१७
राजनीतिक दलहरुको नजरमा सरकारको एक वर्ष

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड नेतृत्व गरेको सरकार गठन भएको १ वर्ष पुरा भएको छ । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनु भएका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक सदनमा विश्वासको मत लिदा असाधारण मत पाउनु भएको थियो । सदनमा उपस्थित १२ दलहरूमध्ये १० वटा राजनीतिक दलहरूले विश्वासको मत दिएका थिए ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा पहिलो पटक विश्वसको मत लिदा उहाँको पक्षमा २६८ र विपक्षमा २ मत खसेको थियो । जुन मतदानमा २७० सांसद सहभागी थिए । त्यस वखत सदनमा उपस्थित १२ दल मध्ये नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका संसद्ले मात्र प्रचण्डलाई मत दिएनन्। ती दलका एक-एक सांसद् छन्। सबै स्वतन्त्र सांसदहरुले समेत उहाँलाई विश्वासको मत दिएका थिए ।

राष्ट्रपति निर्वाचनमा गठबन्धमा आएको बदलीसँगै भने दोस्रोपटक विश्वासको मत लिदाँ २६८ को समर्थन १७२ सीमित भयो । प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारले विकासलाई पहिलो प्राथमिकतामा राख्ने र अर्थतन्त्रलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रचण्ड नेतृत्वको सरकारले साझा न्यूनतम कार्यक्रममा मुलुकको अर्थतन्त्र सुधारका लागि नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका काम अघि बढाएर आमूल परिवर्तनको लक्ष्य राखेको थियो । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले १ बर्ष पुरा गर्दै गर्दा सरकारको एक वर्षका उपलब्धिका सम्बन्धमा राजनीतिक दलहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।प्रतिपक्षले सरकार प्रतिरक्षामै एक बर्ष बिताएको बताइ रहँदा सत्ता गठबन्धनमा रहेको सरकारको १ वर्ष उपलब्धि मूलक रहेको दावी गरेका छन् ।

मीन विश्वकर्मा: नेपाली कांग्रेस

पछिल्लो एक वर्षमा प्रधानमन्त्री तथा मन्त्रीहरूले गरेका विदेश भ्रमणबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार आएको र त्यस सम्बन्धबाट मुलुकलाई धेरै क्षेत्रमा लाभ पुगेको छ । प्रधानमन्त्रीको भारत, चीन, अमेरिका र संयुक्त अरब इमिरेट्सको भ्रमण तथा मन्त्रीहरुले गर्नु भएको विभिन्न देशको भ्रमणबाट उर्जा व्यापार, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, व्यापार लगाएतका क्षेत्रमा देशलाई लाभ पुगेको छ । अन्तराष्ट्रिय सम्बन्ध र अर्थतन्त्र र सेवाप्रवाहमा धेरै सुधार भएको छ ।

गोकर्ण विष्ट: नेकपा एमाले

गठबन्धन बदल्ने र त्यसलाई टिकाउन राजनीतिक प्रतिरक्षामा सरकारको एक बर्ष बित्यो । जनताको जीवन स्तरमा परिवर्तन आएन । सम्भावतः गएको एक बर्ष देशमा सम्भावना नदेखेर सबैभन्दा धेरै युवाहरूले आफ्नो देश छाडेको वर्षको रुपमा रेकर्ड रहेको होला । विकास निर्माणका आयोजनाहरू ठप्प जस्तै छन् अर्थ क्षेत्रमा धेरै सुधार आयो भनिएको छ । तर जनताले त्यो अनुभुति गर्न पाएका छैनन् । अमूल्य एक वर्ष सरकार कसरी टिकाउने भनेर बितेको छ ।

देव प्रसाद गुरुङ: नेकपा माओवादी केन्द्र

जनताले अनुभुति गर्ने गरि परिवर्तन भएका छन् । भ्रष्ट्राचारको र अनियमितता विरुद्ध खरो उत्रिएर जनतामा आशा जगाउने काम भएको छ । सुशासन र सार्वजनिक सेवा प्रवाहमा धेरै सुधार भएको छ । ललिता निवास प्रकरण, भुटानी शरणार्थी सुन काण्ड लगायतको छानविन गरेर कानुनी शासनको प्रत्याभूति गराउन सफल भएको छ ।

सुमना श्रेष्ठ: राष्ट्रिय स्वतन्त्र पार्टी

सरकारको एक वर्षको उपलब्धि चर्चा गर्ने विषय नै छैन । छिमेकीहरू खरायोको गतिमा दौडिइरहँदा सरकारको चाल कछुवा गतिमा छ । जनताको अवस्थामा सुधार आउने कुनै काम भएको अनुभुति जनताले गर्न पाएका छैनन् । कानुन निर्माणमा ध्यान छैन । सहमतिको संस्कार देखिएन । जनताले चाहनालाई सम्बोधन गर्नेगरी जुन गतिमा सरकारले काम गर्नुपर्थ्यो त्यो हुन सकेन । नियमित कामहरूलाई उपलब्धिका रुपमा राख्न सकिदैन ।

प्रकाश ज्वाला: नेकपा (एकीकृत समाजवादी)

मुलुकको विकास र अर्थतन्त्रमा सरकारले प्रतिबद्धता जनाएकै जस्तो परिवर्तन नभएपनि केही सकारात्मक परिवर्तन देखिन थालेका छन् । गतवर्षको तुलनामा पर्यटन आवागमन र विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । बैक तथा वित्तिय संस्थाको ब्याजदर घट्दा अर्थतन्त्र चलायमान देखिएको छ भने विकासको गति केही बढेको छ । विभिन्न योजना तथा परियोजनाको पनि काम अघि बढेका छन् । (साभार : नेपाल टेलिभिजनबाट)

  • मिसन संवाददाता
  • मङ्लबार, पुस १०, २०८० १0:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट