नेकपा एमाले निकट युवा संघ दोलखा नेता राजीव श्रेष्ठ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । युवा संघको तत्कालीन संगठन युथफोरका केन्द्रीय सदस्य श्रेष्ठ वाइसियल नेपाल, दोलखाको छैठौं जिल्ला भेलाको अवसरमा माओवादी केन्द्र प्रवेश गरेका हुन् । दोलखाका युवाहरु माझ लोकप्रिय श्रेष्ठलाई माओवादी केन्द्रका नेताहरु गंगा कार्की, विशाल खड्का, देवी खड्का, रामप्रसाद सापकोटा ‘दीपशिखा’ लगायतले अविर र खादा लगाएर स्वागत पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि श्रेष्ठले एमाले झन् झन् प्रतिगामी कित्तामा फस्दै गएकोले आफु माओवादी नेतृत्वको सरकारले चालेको सुशासनको कदमबाट आकर्षित भएको बताए । दोलखा एमालेमा विकास भएको गुट, उपगुट र अन्तर्घातको शृंखलाले उक्त पार्टीमा युवाहरुको कुनै भविष्य नभएको उनले बताए ।
साथै नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल दोलखाको जिल्ला भेलाले विनोद लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
सदरमुकाम चरिकोटमा आज सम्पन्न जिल्ला भेलाले वाइसियलको संयोजकमा विनोद लामा र सचिवमा दिपेन्द्र बुढाथोकीलाई सर्वसम्मत चयन गरेको हो । वाइसियल जिल्ला भेलाको उद्धघाटन नेकपा माओवादी केन्द्रका युवा नेता तथा वाईसियल ईन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)ले गरेका थिए । भेलालाई नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभाका सांसद गंगा कार्की (विश्व), नेतृ देवी खड्का, जिल्ला इन्चार्ज बिशाल खड्का, केन्द्रिय सदस्य नरबहादुर पाख्रिन लगायतले सम्बोधन गरेका थिए ।