ताइवानको आम निर्वाचनमा चीनविरोधी मानिने सत्तारुढ दल डीपीपीका उम्मेदवार विलियम लाइ विजयी भएका छन् । हाल ताइवानको उपराष्ट्रपति रहेका उनी अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।
जितलगत्तै लाइले चीनको निरन्तरको धम्कीबाट ताइवानलाई बचाउन आफू प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन् । चुनावअघि चीनले लाइलाई मतदान नगर्न ताइवानीहरूलाई आग्रह गरेकाे थियाे ।
नतिजापछि ताइवानका मतदाताहरूले चीनको चेतावनीकाे बेवास्ता गरेकाे टिप्पणी भइरहेकाे छ । मतगणनामा लाइले अतुलनीय अग्रता लिएपछि दुवै विपक्षी उम्मेदवारले पराजय स्वीकार गरेका हुन् ।
आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै लाइले ताइवानी जनताले चुनावमा प्रभाव पार्ने बाहिरी शक्तिहरूको प्रयासलाई सफलतापूर्वक प्रतिरोध गरेकाे बताए । उनले ताइवानले लोकतन्त्रको पक्षमा मत जाहेर गरेकाे बताए ।
उनले आफ्नो सरकारले चीनसँगको विवाद वार्ताबाट समाधान गर्ने प्रयास गर्ने बताउन पनि छुटाएनन् । ताइवानलाई चीनले आफ्नाे अभिन्न अंग बताउने गरेकाे छ । तर ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्र मान्छ ।