बार्सिलोनाको धुलाई गर्दै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० 0८:५0
बार्सिलोनाको धुलाई गर्दै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन

बार्सिलोनालाई ४-१ गोलले पराजित गर्दै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ । साउदी अरेबियाको अल अवाल पार्क किङ साउद युनिभर्सिटीको मैदानमा गए राति भएको खेलमा ब्राजिली युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिकमा रियलले साविक विजेतासमेत रहेको बार्सिलोनाको हातबाट उपाधि जोगाएको हो ।

रियलका लागि अर्को एक गोल रोड्रिगोले गरेका हुन् । दुई गोलले पछि परिसकेको अवस्थामा ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेर बार्सिलोनालाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसपछि बार्सिलोनाबाट कुनै गोल हुन सकेन तर रियलले अझै दुई गोल थप्यो ।

अघिल्लो वर्ष फाइनलमा रियललाई बार्सिलोनाले नै हराएको थियो । त्यो हारको बदला रियलले यसपालि लिएको छ ।

बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि सर्वाधिक १४ पटक जितेको छ भने दोस्रोमा रियलले १३ पटक जितेको छ । स्पेनिस सुपर कप ला लिगाका शीर्ष दुई टोली तथा कोपा डेल रेका दुई टोली खेल्छन् । ला लिगा र कोपा डेल रे जित्ने एकै टोली भएमा ला लिगामा तेस्रो भएको टोलीले सुपर कपमा स्थान बनाउँछ ।

  • मिसन संवाददाता
  • सोमवार, माघ १, २०८० 0८:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट