म्याग्दीमा राष्ट्रिय परिचयपत्रको निःशुल्क फारम भर्न सुरु

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १२:१३
म्याग्दीमा राष्ट्रिय परिचयपत्रको निःशुल्क फारम भर्न सुरु

म्याग्दी- जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क रुपमा भर्न सुरु गरेको छ । सेवाग्राहीले अनलाइन फाराम भर्दा झन्झटिलो भएको, बाहिर बजारमा फाराम भर्दा अतिरिक्त शुल्क तिर्नुपरेको र समय तथा पैसाको बचत नभएको जस्ता गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयले निःशुल्क अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो ।
सर्वसाधारण, नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्थापन गरेर प्रशासन कार्यालयबाटै राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । अबदेखि सेवाग्राहीले बाहिर शुल्क तिरेर अनलाइन फारम भर्नुपर्ने बाध्यता र झन्झटको अन्त्य भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो ।
बिहीबारदेखि सुरु गरिएको सेवामार्फत अनलाइन फाराम भर्ने पहिलो सेवाग्राही बेनी नगरपालिका ३ गौश्वाराकी सपना केसीलाई प्रजिअ ढकालले प्रशासन कार्यालयमा खादा लगाएर स्वागत गर्नुका साथै फारम हस्तान्तरण गर्नुभएको थियो ।

सेवाग्राही केसीले आफूलाई जिल्ला प्रशासनमा स्वागतसहित निःशुल्क रुपमा अनलाइन फारम भर्ने सेवा लिन पाएकोमा खुशी लागेको बताउनुभयो । जापानबाट नेपाल फर्किएको समयमा राहदानी बनाउनका लागि आफूले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने व्यवस्थासँगै जिल्ला प्रशासन कार्यालयबाट विवरण सङ्कलन गर्ने तथा परिचयपत्र वितरण गर्ने जस्ता कार्यहरु भैरहेका छन् ।

राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्नको लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, विवाहितको हकमा विवाहदर्ताको प्रमाणपत्र वा नाता खुल्ने परिचयपत्र, विधुवा तथा बिदुरको हकमा मृत्युदर्ताको प्रमाणपत्र, नागरिकताभन्दा फरक ठेगाना राख्नुपरेमा बसाइसराइको प्रमाण र सम्बन्धबिच्छेदका लागि सम्बन्धबिच्छेदको सक्कल प्रमाणपत्र पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।।

  • मिसन संवाददाता
  • शुक्रबार, माघ ५, २०८० १२:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट