जेठा विरेन्द्र राजा हुन्, कुशका मात्र राजा ज्ञानेन्द्रले हैसियत पाएका छैनन : केपी ओली

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १९:१६
जेठा विरेन्द्र राजा हुन्, कुशका मात्र राजा ज्ञानेन्द्रले हैसियत पाएका छैनन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको बताएका छन्।

तेजाव पीडित मुस्कान खातुनको सत्यकथामा आधारित चलचित्र ‘नमेटिने घाउ’को शुभमुहूर्तमा आइतबार सहभागी हुने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गराएको ब्याख्या गरिनुलाई ओलीले हाँस्यास्पद भनेका हुन्।

‘दरबारमा राजा वीरेन्द्र र रानी ऐश्वर्यासहितलाई तत्कालीन युवराज दीपेन्द्रले आफैं मरेपछि गोली हाने? राजा हुन लागेको एउटा मान्छेले त्यसरी आफ्नो परिवार नै सखाप पार्छ, मार्छ?’, ओलीले प्रश्न गर्दै भने, ‘दरबारभित्र अगाडिबाट उसैले गोली हान्ने, पछाडिबाट पनि उसैले गोली हान्ने? यस्तो पनि कहीँ हुन्छ?’

उनले राजाको जेठो छोरो मात्रै राजा हुने पनि स्मरण गरे। यस्तोमा वीरेन्द्रका भाइ ज्ञानेन्द्रले राजाको हैसियत नै पाउन नसक्ने ओलीले बताए।

‘राजाको जेठो छोरो राजा हुन्छ। छोरीसमेत मारिइसकेपछि उसको वंश नै सकियो’, उनले भने, ‘त्यतिबेलाको सरकारको कमजोरीका कारण ज्ञानेन्द्र शाहलाई राजगद्धीमा राखेर सजाउने काम भयो। ज्ञानेन्द्र शाह राजा नै होइनन। बाहुनले बाहुन भनेर टपरीमा एउटा कुशको बाहुन राख्छन्। त्यस्तै उनी पनि कुशका राजा मात्रै हुन्।’

राजतन्त्र नै समाप्त भइसकेकाले अब ज्ञानेन्द्र शाहले बोलेका कुनै कुराले अर्थ नराख्ने पनि ओलीले बताए। ‘राजतन्त्र दरबार हत्याकाण्डसँगै समाप्त भइसक्यो। ज्ञानेन्द्र शाह कहिले पनि राजा भएनन्। यस्ता कुरामा के बहस गरिरहनू’, ओलीले अगाडि भने।

  • मिसन संवाददाता
  • आइतवार, माघ १४, २०८० १९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट