कपिलमणिलाई यातना दिएको खबर कपोल्कल्पित, झुठा र भ्रमपुर्ण !

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १0:५९
कपिलमणिलाई यातना दिएको खबर कपोल्कल्पित, झुठा र भ्रमपुर्ण !

सहकारी चोरी घटनामा प्रहरीले अनुषन्धान गरिरहेका दोलखाको पवटीका कपिलमणी न्यौपानेको आत्महत्या प्रकरणमा मानसिक तथा शारीरिक यातना नदिएको दोलखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले आज बिज्ञप्ति जारी गरी न्यौपानेलाई दोलखा प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले मानसिक यातना दिएका कारण आत्महत्या गरिएको भनी गरिएको प्रचार गलत र झुठा भएको बताएको छ । दोलखा प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक धर्मेश कुमार यादवले जारी गरेको बिज्ञप्तिमा न्यौपानेलाई प्रहरीले मानसिक तथा शारीरिक यातना दिइ मर्न बाध्य बनाएको भनि एकतर्फीरुपमा कपोलकल्पित र झुठा समाचार सम्प्रेषण गरेर प्रहरी संगठनको छविमा आँच आउने काम गरिएको उल्लेख छ ।

मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्योदय सहकारीमा भएको चोरीको घटनामा घरवेटी भएका नाताले अनुषन्धानकालागि न्यौपानेलाई कार्यालयमा बोलाएर सोधपुछ र प्रविधिक सहायतावाट समेत अनुषन्धान गरिएको प्रहरीले स्पस्ट पारेको छ । चोरीको घटनामा सोधपुछ गर्नु प्रहरीको कर्तव्य भएको र घटनाको अनुषन्धान भइरहेका बेला गलत प्रचार गर्दा अनुषन्धानलाई प्रभाव पर्ने दोलखा प्रहरीको भनाई छ । हाम्रो सुर्योदय सहकारीको पूर्व कोषाध्यक्ष र संस्थाको कार्यालय रहेको घरवेटी समेत रहेका न्यौपानेले सनिवार सुसाइट नोट लेखेर आत्महत्या गरेका थिए । उनले सहकारी चोरीको घटनामा आफुलाई फसाउन खोजिएको भन्दै विभिन्न व्यक्तिहरुको नाम किटान गरेर लेखे पनि प्रहरीले यातना दिएको बारेमा केही उल्लेख गरेका थिएनन् ।

एमाले जिल्ला कमिटी सदस्य समेत रहेका न्यौपानेले आत्महत्या गरेपछि डिएसपी खड्काले टेलिफोन गरेर मानसिक यातना दिएका कारण आत्महत्या गरेको भन्दै मृतकका परिवारजन र एमालेका कार्यकर्ताहरुले प्रहरी बिरुद्ध प्रदर्शन गरेका थिए ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘सोही घटनालाई लिएर कपिलमणी न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय दोलखाको डिएसपी दिपक खड्काले फोन गरेर मानशिक यातना दिई मर्न बाध्य बनाएको भनि सामाजिक सञ्जालहरुमा आएको समाचारहरु प्रति यस कार्यालयको गम्भिर ध्यानाकर्षण गराईन्छ । मिति २०८०/१०/१४ गते राती जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. १ स्थितमा रहेको हाम्रो सुर्योदय सहकारी लिमिटेडमा रहेको पैसा राख्ने भल्टमा रहेको नगद रु ३२,८७,२७६।–(अक्षरेपी बत्तिस लाख सतासी हजार दुई सय छैहत्तर रुपैया) चोरी भएको भन्ने सुचना प्राप्त भए पश्चात सो सम्बन्धमा अनुसन्धानको लागी प्रहरी टोली खटिई गई हेर्दा CCTV फुटेजमा अपरिचित ब्यक्तिको प्रबेश देखिएको हुँदा अनुसन्धानको लागी हाम्रो सुर्योदय सहकारी लिमिटेडको सञ्चालक समितिका पदाधिकारी, ब्यबस्थापक, कर्मचारी र सोही सहकारी रहेको घरको घर धनि समेतलाई अनुसन्धानको लागी आवश्यकता अनुसार यस कार्यालयमा बोलाई सोधपुछ तथा प्राबिधिक सहायताबाट अनुसन्धान भई रहेको उक्त चोरी घटना पश्चात घर धनि कपिल मणी न्यौपानेलाई मानशिक तथा शारिरीक यातना दिई मर्न बाध्य बनाएको भनि कपोल्कल्पित र झुठा समाचार एक तर्फि रुपमा सम्प्रेशनबाट प्रहरी संगठनको छबिमा आँच आउने र कुनै पनि घटना अनुसन्धानमा प्रभाब पार्ने हुँदा यस्ता कपोल्कल्पित, झुठा र भ्रमपुर्ण समाचारमा बिश्वसनियता नरहेको ब्यहोरा जानकारीको लागी अनुरोध ।’

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन ८, २०८० १0:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट